हरिवन – सर्लाहीको हरिवनस्थित मालपोत कार्यालयको सुविधा सम्पन्न भवन निर्माण भएको छ ।
हरिवन नगरपालिका–१०, नोचाँमा कार्यालयको आफ्नै भवन निर्माण सम्पन्न भई त्यहीँबाट सेवा प्रवाह गर्न सुरु गरिएको कार्यालयका प्रमुख रमेशप्रसाद गौतमले जानकारी दिए । मालपोत कार्यालय यसअघि हरिवन ११ स्थित बजारमा भाडाको घरबाट संचालन हुँदै आएको थियो ।
भ्याट रकमबाहेक करिव छ करोड २० लाख रुपैयाँमा मालपोतको ३० वटा भन्दा बढी कोठाको साँढे तीन तले भवन निर्माण गरिएको हो । भाडाको साँघुरो भवनबाट सेवा प्रवाह गर्न समस्या भइरहेका बेला आफ्नै सुविधा सम्पन्न भवन निर्माण भएसँगै सेवा प्रवाह गर्न सहज भएको कार्यालय प्रमुख गौतमले बताए ।
उनले ठेकेदारबाट औपचारिक रुपमा भवन हस्तान्तरण हुन भने बाँकी नै रहेको बताए । अब नयाँ सरकार गठन पश्चात भवनको उद्घाटन गरिने गौतमले जानकारी दिए ।
मालपोत कार्यालयको भवन निर्माण गर्न हरिवन ९ निवासी बासुदेव निरौलाले केही वर्षअघि नै छ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए । उनले दिएको जग्गामा नै मालपोतले सुविधा सम्पन्न भवन निर्माण गरेको हो ।
मालपोतकै छेउमा नापी कार्यालय हरिवनको पनि सुविधा सम्पन्न भवन निर्माण भइरहेको छ । मालपोत कार्यालयका जग्गादाता निरौलाले नै दिएका एक कठ्ठा, हरिवन ९ निवासी नरेन्द्र भट्टराई र राजेन्द्र भट्टराई दाजुभाईले दिएको तीन कठ्ठा जग्गामा नापीको भवन निर्माण भइरहेको हो ।
अहिले हरिवन ११ स्थित भाडाकै घरबाट सेवा दिइरहेको र आफ्नो भवन निर्माण पूरा हुनासाथ त्यहाँ सरिने नापी कार्यालय हरिवनका प्रमुख छत्रबहादुर लुंगेलीले बताए ।