logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिवनमा उखु लोड भएको ३ वटा ट्याक्टरमा ट्रक ठोक्कियो, २ जना घाइते


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

हरिवन पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी मिलमा उखु लिएर आएका ट्याक्टरमा ट्रक ठोक्किँदा २ जना घाइते भएका छन् ।

बिहीबार मध्यरातमा चिनी मिलको गेट नजिक रोकेर राखिएको ना ६ त ४५३८, ज १ त ९६०२ र ना ५ त ८३७५ नम्वरको ट्याक्टरमा पूर्वतर्फ आउँदै गरेको ना ६ ख ५९०९ नम्वरको कोकाकोला लोडभएको ट्रक आएर ठोक्किएको हो । दुर्घटनामा ना ५ त ८३७५ नम्वरको ट्याक्टरका चालक बसबरिया गाउँपालिका–१, बस्ने ४० वर्षीय रामविराज राय र ना ६ त ४५३८ नम्वरको ट्याक्टरका चालक चक्रघट्टा गाउँपालिका–२, बस्ने २४ वर्षीय सुशील कुमार यादव घाइते भएका छन् ।

उनीहरुको नमूना अस्पताल हरिवनमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । दुर्घटनापछि ट्रकका चालक फरार छन् ।

चिनी मिल चल्ने समयमा किसानले उखु लिएर आएका टायरगाढा, ट्याक्टर, ट्रकजस्ता सवारी वर्सेनि यसरी दुर्घटनामा पर्ने गरेका छन् ।