बिहीबार बिहान लागेको हुस्सु ।
लालबन्दी – सर्लाहीमा बिहीबार यो वर्षकै सबैभन्दा धेरै चिसो महशुस गरिएको छ ।
दिनभर घाम नै नलागी निरन्तर बाक्लो हुस्सु लागेर स्याँठ चलेकाले जिल्लावासीले अत्यधिक चिसो महशुस गरेका हुन् । पूर्व–पश्चिम राजमार्ग क्षेत्रको लालबन्दी, हरिवन, मध्यभागको हरिपुर, गैर, बयलवास, तथा सदरमुकाम मलंगवा, ब्रम्हपुरी, संग्रामपुर, गोडैता, बलरासहित दक्षिणी भेगमा दिनभर बाक्लो हुस्सु लाग्यो ।
तल्लो भेगमा बाक्लो हुस्सु लागेर नजिकैको दृश्य समेत देख्न गाह्रो परिरहँदा चुरेभेगका कालिन्जोर, परवानिपुर, पत्थरकोट, नारायणखोला, अत्रौली, बागमतीलगायत क्षेत्रमा भने बिहीबार दिनभर जसो नै पारिलो घाम लागेको त्यसभेगका स्थानीयले बताए । यसअघि पनि दक्षिणी बेल्टमा डप्प हुस्सु र कुहुरो लाग्दा चुरेपाखा आसपासका बस्तीमा भने पारिलो घाम लागेको हुन्छ ।
बिहीबारबाट चिसो झनै बढ्दा गरिव, दलित र विपन्न परिवार झनै कठ्यांग्रिएका छन् । चिसो छल्न स्थानीयले घर तथा चौक बजारमा आगो बालेर तापेका छन् ।
कतिपय त घरबाट बाहिर निस्किएका छैनन् । कठ्यांग्रिदो चिसोले पराल ओछयाएर सुत्न बाध्य मुसहर, डोम, चमारजस्ता अतिविपन्न तथा दलित अनि मजदुर परिवार बढी प्रभावित बनेका छन् ।
चिसोले कठ्यांग्रिएर जिल्लामा मानिसको मृत्यु समेत भइरहेको छ । हरिपुर नगरपालिकाको वडा नं. ६ लक्ष्मीपुर र ९ पिडारीमा ३ जनाको ज्यान गइसकेको छ ।
प्रभावितलाई चिसोबाट जोगाउन पालिका र अन्य सरोकारवाला निकायले कुनै वास्ता गरेका छैनन् । पूर्ण अधिकार प्राप्त स्थानीय तहले चिसोले पालिकाभित्रका वासी कठ्यांग्रिएर रहेको र केहीको मृत्यु भइसक्दा समेत न्यानो प्रदान गर्न चासो नदिएको भन्दै चर्को आलोचना भइरहेको छ ।