logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

लालबन्दी बजार आइतबारको साटो शनिबार बन्द गर्ने निर्णय, तर सबै व्यापारीले मानेनन्


  • उज्यालो अभियान

लालबन्दी बजार ।

लालबन्दी – सर्लाहीको लालबन्दी बजार प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बन्द गराउने भनी उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्शले गरेको निर्णय आज पहिलो दिन केही व्यापारीले अस्वीकार गरी पसल खोलेका छन् ।

लालबन्दी बजार यसअघि प्रत्येक पहिलो र तेस्रो आइतबार बन्द हुने गरेको थियो । उद्योग वाणिज्य संघ र चेम्बरले केही दिनअघि निर्णय गरी अब आइतबारको साटो शनिबार बजार बन्द गर्ने अर्थात् व्यापारिक विश्राम गर्ने निर्णय गरेको थियो । तर, त्यो निर्णयलाई अस्वीकार गर्दै आज केही व्यापारीले शनिबार नभई आइतबार नै बन्द गरिनुपर्ने भन्दै पसल व्यवसाय खोलेका हुन् ।

उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्र बलम्पाकीले शनिबार बैंक तथा वित्तीय संस्था अनि सरकारी कार्यालय बन्द हुने भएकाले आइतबारको साटो शनिबार नै बन्द गर्न उचित हुने सबैबाट सुझाव आएपछि यो निर्णय गरिएको बताए ।

बलम्पाकीले भित्री बजारका केही व्यापारीले आइतबार नै बन्द गर्नुपर्ने माग राखेर पसल खोलेपनि मुख्य बजारका अधिकांशले वाणिज्य संघ र चेम्बरको निर्णय स्वीकार गर्दै शनिबार नै पसल बन्द गर्न सुरु गरेका बताए । उद्योग वाणिज्य संघका अध्यक्ष बलम्पाकीले कोही व्यापारीको पसल व्यवसायमा जवरजस्ती सर्टर झार्ने उद्योग वाणिज्य संघको काम नभएको भन्दै व्यापारीकै हितमा काम गर्ने संघले गरेको निर्णय बुझिदिन व्यापारीसँग आग्रह गरेका छन् ।

भित्री बजारमा व्यापार गर्ने व्यापारीको समूहले आइतबार मात्रै बजार बन्द गछौँ भन्दै उद्योग वाणिज्य संघको कार्यालयमा गएर निवेदन समेत दिएको बुझिएको छ ।