प्रतिकात्मक तस्बिर ।
मलंगवा – सर्लाहीको रामनगर गाउँपालिका–७, मा शुक्रबार साँझ गोली लागेर घाइते हुनुभएका सशस्त्र प्रहरीका जवानलाई थप उपचारका लागि टिचिङ अस्पताल महाराजगन्ज, काठमाडांै पुर्याइएको छ ।
गोली लागेर घाइते सशस्त्र प्रहरी जवान ३२ वर्षीय सुरेश साहलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार पश्चात शनिबार बिहानपख काठमाण्डौं पुर्याइएको हो । काभ्रेमा कार्यरत साह बिदामा घर आएका थिए । शुक्रबार साँझ अरु ३ जना साथीसँगै बसेर खाजा खाएपछि बाहिर निस्कने क्रममा साहमाथि गोली प्रहार भएको थियो ।
प्रहरीले सो घटनामा संलग्न सुरेशकै मामाका छोरा धनकौल गाउँपालिकाको धोबिनियाँ टोलका रामप्रवेश साहलाई घटना लगत्तै पक्राउ गरेको थियो । उनी अहिले प्रहरी हिरासतमा छन् । घटनामा संलग्न फरार रहेका अन्य २ जनाको पनि पहिचान भइसकेको र उनीहरुलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको सर्लाहीका एसपी प्रवीण पोखरेलले बताए ।
घाइते सुरेश, मामाका छोरा रामप्रवेश र फरार रहेका २ जनाले खाजासहित मदिरा समेत सेवन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गोली लागेर घाइते सशस्त्र प्रहरी जवान साहले मदिराको नशा छाड्दै गएपछि अघि बिहानपखबाट मात्रै होसको कुरा गर्न थालेको एसपी पोखरेलले उज्यालो अभियानसँग बताए ।
उनले प्रारम्भिक अनुसन्धानमा लेनदेनको विवादमा गोली चलेको बुझिए पनि थप अनुसन्धान जारी रहेको बताए ।