logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीमा बाक्लो हुस्सु, कठ्याङग्रिदो चिसोले जनजीवन प्रभावित


  • उज्यालो अभियान

शुक्रबार बिहान लालबन्दीस्थित पूर्व-पश्चिम राजमार्गमा लागेको हुस्सु ।

लालबन्दी – सर्लाहीसहित तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर कठ्याङग्रिदो चिसो हुन थालेपछि जनजीवन अत्यन्त प्रभावित बन्न थालेको छ ।

यस क्षेत्रमा आज (बिहीबार) पनि बिहानैदेखि बाक्लो हुस्सु लागेर शित झरिरहेको छ । दुई दिन अघिसम्म बिहान–बेलुका र रातको समयमा चिसो भए पनि दिनभर भने पारिलो घाम लाग्ने गरेको थियो । तर, हिजो (बुधबार) बाट बाक्लो हुस्सु लागेर कठ्याङग्रिदो चिसो हुन थालेको हो ।

चिसो बढेपछि बालबालिका, वृद्धवृद्धा र दिर्गरोगीहरु बढी प्रभावित बनेका छन् । छाप्रामा बस्ने अतिविपन्न तथा मजदुर परिवार ताता खानेकुरा र न्यानो कपडाको अभावमा कठ्याङग्रिन थालेका छन् । चिसो बढेपछि विपन्न समुदायको बाहुल्यता रहेको बस्तीमा समस्या सुरु भएको विष्णु गाउँपालिकाका स्थानीय संचारकर्मी अकलेश बैठाले जानकारी दिए ।

चिसो छल्न स्थानीयहरुले आगो बालेर ताप्न थालेका छन् । चोक चौतरामा मानिसको जमघट बन्द भएको छ । कठ्याङग्रिदो चिसोले विद्यार्थीलाई विद्यालय जान समस्या सुरु भएको छ भने मजदुर र किसानलाई नियमित काममा निस्कन गाह्रो परेको छ ।

सर्लाही चक्रघट्टाका विवेक यादवले दक्षिणी भेगमा अझ बढी बाक्लो मात्रामा हुस्सु लागेपछि गाउँलेहरु आगो बालेर ताप्न थालेको र पशु चौपायलाई पराल ओछ्याउने, बोरा ओढाउने लगायत काम गर्न थालेका उज्यालो अभियानसँग बताए ।

चिकित्सकले चिसो बढिसकेकाले स्वास्थ्यको विशेष ख्याल गर्न सुझाव दिएका छन् । यो बेला झोलिलो र ताता खानेकुरा प्रशस्त खान, न्यानो कपडा लगाउन सुझाव दिएका छन् । चिसोबाट टाउको दुख्ने, कोल्ड डायरिया हुने, छातीमा संक्रमण हुने, रुघाखोकी लाग्ने जस्ता स्वास्थ्य समस्या देखिने भएकाले चिसोबाट जोगिने उपाय अपनाउन चिकित्सकले सुझाव दिएका हुन् ।

प्रादेशिक अस्पताल मलङ्गवाका डाक्टर अविनाश सिंहले चिसो गढे धेरै दिनसम्म समस्या हुने भएकाले चिसोबाट जोगिने उपाय अपनाउन जिल्लावासीसँग आग्रह गरेका छन् ।