उद्धार गरेर ल्याइएकी सोममाया (दाँत कोट्याउँदै) । साथमा वडाध्यक्ष टमबहादुर घिसिङ र आश्रमकी संयोजक सम्झना अधिकारी लगायत ।
हरिवन – चुरेभेगस्थित विकट ठाउँमा पर्ने सर्लाहीको हरिवन नगरपालिका–१, बिलन्दीबाट शनिबार एक जना बेसहारा वृद्धालाई उद्धार गरेर मानव सेवाश्रममा ल्याइएको छ ।
श्रीमान, छोराछोरी कोही नरहेका ८० वर्षीया आमा सोममाया बम्जनलाई उद्धार गरेर हरिवन १ कैलाशपुरीमा रहेको मानव सेवाश्रममा ल्याइएको हो । अब सोही आश्रममा उनको पालनपोषण र औषधि उपचार हुने छ ।
हरिवन १ का वडाध्यक्ष टमबहादुर घिसिङ, वडा सदस्य चिनिमाया स्याङतान, मानव सेवा आश्रमकी संयोजक सम्झना अधिकारी लगायत भएर वृद्धाको उद्धार गरेका हुन् । ८० वर्ष भइसकेकी ती वृद्धा वडा सदस्य चिनिमायाकै पुरानो घरमा बस्दै आएकी थिईन् ।
वृद्धाले २÷३ घण्टा उकालो ओरालो गरी पानी ओसारेर कसैले दिएको अनाज पकाएर खाने गर्थिन । उनको दयनीय अवस्था देखेरै उद्धार गरी मानव सेवाश्रममा राखिएको वडाध्यक्ष घिसिङले बताए ।
सोममायालाई ल्याएर राखिएपछि मानव सेवाश्रममा अब ५१ जना पुगेका छन् । आश्रममा कोही आफन्त नभएर सडकमा बेवारिसे भई बसेकाहरुलाई उद्धार गरेर ल्याई पालनपोषण गरेर राखिएको छ ।