हरिपुर, मंसिर २२ – सर्लाहीको हरिपुर नगरपालिका–२, निवासी नेपाली कांग्रेसका स्वर्गिय नेता टंकप्रसाद प्रसाईको एक सन्तानलाई एभरेष्ट आवासिय विद्यालय लालबन्दीले निःशुल्क पढाइदिने भएको छ ।
कांग्रेस क्षेत्र नं. १ को क्षेत्रीय कार्य समितिले बिहीबार स्व. प्रसाईको नवौँ दिनको तिथीमा आयोजना गरेको श्रद्धान्जली अर्पण कार्यक्रममा कांग्रेस नेता एवं हरिपुर नगरपालिकाका मेयर गोपाल पजियारले आफ्नो स्वामित्वमा रहेको एभरेष्ट आवासिय विद्यालयमा प्रसाईको एक सन्तानलाई निःशुल्क पठनपाठन गराउने प्रतिवद्धता व्यक्त गरेका हुन् । नेपाली कांग्रेसमा एक दशकदेखि क्रियाशील ३८ वर्षीय प्रसाईको ब्रेन ट्यूमरबाट मंसिर १४ गते निधन भएको थियो ।
उनको ८ वर्षको छोरा र ५ वर्षकी छोरी गरी २ सन्तान छन् । पार्टीको वडा समितिको उपसभापति समेत रहेका स्व. प्रसाईप्रति श्रद्धान्जली व्यक्त गर्न संविधान सभाका सदस्य रामचन्द्र चौधरी, क्षेत्रीय सभापति हरिबहादुर लुंगेली, महाधिवेशन प्रतिनिधि योगराज देवकोटा (युवराज), जिल्ला सहसचिव इन्द्र योन्जन, क्षेत्रीय कोषाध्यक्ष शालिग्राम लम्साल, क्षेत्रीय सहसचिव चेतबहादुर खड्का, हरिपुर २ का कांग्रेस वडा सभापति खेटराज सुवेदी, सुशील चौधरीलगायत त्यहाँ पुगेका थिए ।
सहभागीहरुले स्व. प्रसाईको तस्बीरमा माल्यार्पण गर्दै उहाँप्रति श्रद्धान्जली व्यक्त गरेका हुन् ।