logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

खत्रीलाई प्रथम स्व. गजेन्द्र नारायण सिंह स्मृति पत्रकारिता पुरस्कार


  • उज्यालो अभियान

पत्रकार खत्रीलाई सम्मान गरिँदै ।

लालबन्दी – प्रथम स्वर्गिय गजेन्द्र नारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कारबाट उज्यालो अभियान दैनिकका समाचार संयोजक जनार्जन खत्री सम्मानित भएका छन् ।

खत्रीलाई मंगलबार सम्पन्न नेपाल पत्रकार महासंघ सर्लाही शाखाको ११ औँ वार्षिक साधारण सभा समारोहमा यो पुरस्कार प्रदान गरिएको हो । उनलाई सम्मान–पत्र र १५ हजार ५ सय ५५ रुपैयाँ नगद राशीसहित सम्मान गरिएको हो ।

सर्लाहीमा क्रियाशील रुपले पत्रकारिता गर्दै सामाजिक सद्भाव एवं भाइचारा कायम गराउन र समृद्धिको यात्रामा डो¥याउन योगदान गरेकाले उनलाई सम्मान गरिएको सम्मान–पत्रमा उल्लेख छ । महासंघका जिल्ला अध्यक्ष टंकबहादुर क्षेत्री, केन्द्रिय सदस्य रिंकुकुमारी मिश्र, आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, नवनिर्वाचित प्रदेश सांसद बेची लुंगेली, लालबन्दीका मेयर बासुदेव अधिकारी, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोलगायतका अतिथिले खत्रीलाई सम्मान हस्तान्तरण गरे ।

खत्री गोरखापत्र दैनिक र लालबन्दीस्थित सामुदायिक रेडियो एकतामा पनि कार्यरत छन् । पूर्व पत्रकार तथा मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा. राजेश झा (अहिराज) ले २०७६ सालमा ५१ हजार रुपैयाँ सहयोग गरी पत्रकारिता कोष स्थापना गरेका थिए ।

महासंघको निवर्तमान जिल्ला अध्यक्ष एवं हाल मधेश प्रदेश कार्य समितिका कोषाध्यक्ष विश्वनाथ ठाकुरले कोरोनाका कारण बीचमा पुरस्कार वितरण गर्न नसकिएको र पहिलो पटक पत्रकार खत्रीलाई प्रदान गरिएको बताए । वक्ताहरुले पछिल्लो पुस्ताका पत्रकारहरु मध्ये खत्रीले आफूलाई क्रियासिल र स्थापित संचारकर्मीको रुपमा विकास गरेको धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्षहरु चूडामणि वाग्ले, रोशन न्यौपाने, शंकर श्रेष्ठ र विश्वनाथ ठाकुरलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।