मलंगवा – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू सर्लाहीले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई मंगलबार ज्ञापन पत्र बुझाएको छ ।
मंसिर ४ को निर्वाचनको दिन राति बाजुरामा आफ्ना नेता चेतन ऐडीको हत्या गरिएको घटनाको विषयमा अनेरास्ववियूले प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतममार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा ऐडीको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने, ऐडीलाई शहीद घोषणा गर्नुपर्ने, स्मृतिमा उनको शालिक निर्माण गर्नुपर्नेलगायतको माग राखिएको छ ।
ज्ञापन पत्र बुझाउन अनेरास्ववियूका मधेश प्रदेश अध्यक्ष अन्जना शिवाकोटी, जिल्ला अध्यक्ष समिमबाबु खान लगायत उपस्थित थिए । केन्द्रीय सर्कुलर अनुसार अनेरास्ववियूले आज (बुधबार) दोस्रो दिन सदरमुकाम मलंगवामा प्रदर्शन गर्ने तयारी गरेको छ ।