मन्तव्य राख्दै मुख्य निर्वाचन अधिकृत न्यौपाने ।
लालबन्दी – सर्लाहीका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले सञ्चारकर्मीलाई निर्वाचनमा निष्पक्ष भएर कलम चलाइदिन आग्रह गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीले शनिबार लालबन्दीमा आयोजना गरेको ‘निर्वाचनमा सञ्चारमाध्यमको भूमिका’ विषयक अभिमुखिकरण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत न्यौपानेले कसैप्रति झुकाव नराखी निष्पक्ष र न्यायापूर्ण ढङ्गले रिपोर्टिङ गर्न सञ्चारकर्मीसँग आग्रह गरेका हुन् । राज्यको चौँथो अङ्गका रुपमा रहेका सञ्चारकर्मीले निष्पक्ष भइ सकारात्मक किसिमले सामाचार प्रकाशन तथा प्रशारण गर्दा समाजमा पनि सकारात्मक सन्देश प्रवाह हुने र त्यसबाट निर्वाचनलाई सफल बनाउन मद्धत पुग्ने मुख्य निर्वाचन अधिकृत न्यौपानेको विश्वास छ ।
उनले मंसिर ४ को निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न अहिले आफूहरु रातदिन नभनी तयारीका काममा लागिपरिरहेको बताए । मुख्य निर्वाचन अधिकृत न्यौपानेले मतदान केन्द्रमा खटिने कर्मचारीको खटनपटन मिलाउने काममै लागिपरिरहेको जानकारी दिए ।
सर्लाही जिल्ला अदालतका मुख्य न्यायाधीश समेत रहेका न्यौपानेले मंसिर ४ को मतदान र त्यसपछि हुने मतगणनाको निष्पक्षताबारे कुनै शंका नगर्न आग्रह गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला निर्वाचन व्यवस्थापन समितिका संयोजक थानेश्वर गौतमले निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न सोही अनुसारको तयारीमा लागिरहेको बताए ।
त्यस्तै, क्षेत्र नं. ४ का निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले ४ नं. क्षेत्रलाई अर्कै नजरले हेरिए पनि यो पटक आफूहरु क्षेत्रको ८४ वटै मतदानस्थलमा शान्तिपूर्ण किसिमले मतदान गराउन सोही बमोजिमको योजना बनाएर लागिपरेको सञ्चारकर्मी समक्ष बताए । यस्तै, क्षेत्र नं. १ का निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्याय र क्षेत्र नं. ३ का निर्वाचन अधिकृत वशिष्ठकुमार घिमिरेले पनि आ–आफ्नो निर्वाचन क्षेत्रको चुनावी तयारीबारे जानकारी गराए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्रीले पनि सञ्चारकर्मीलाई निष्पक्ष र व्यावसायिक भएर कलम चलाउन आग्रह गरे ।

जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख निर्मल पोख्रेलले निर्वाचन आयोगबाट प्रत्यक्षतर्फको मतपत्रबाहेक समानुपातिकतर्फको मतपत्रसहित अन्य सम्पूर्ण निर्वाचन सामग्री जिल्लामा प्राप्त भइसकेको बताए ।

कार्यक्रममा सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, भैरवी दल गण पाँचकुमारीका गणपति अभिषेक कार्की, प्रहरी उपरीक्षक प्रवीण पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख चन्दन झालगायतको आतिथ्यता रहेको थियो ।