प्रतिकात्मक तस्बिर ।
गोडैता – दक्षिणी सीमावर्ती क्षेत्रस्थित सर्लाहीको गोडैता नगरपालिका–१, बहादुरपुरमा आज (शनिबार) साँझ चुनावी प्रचारमा हिँडेको भारतीय गाडीले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ ।
दुर्घटनामा स्थानीय हरिन्द्र पासवानकी छोरी २ वर्षकी नेहा पासवानको ज्यान गएको हो । प्रत्यक्ष देख्नेहरुले गाडीमा राप्रपाको तर्फबाट क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका महेश महतो कुशवाहाको ब्यानर लगाइएको थियो ।
मृतक बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइसकिएको छ । दुर्घटनामा परेको भारतीय गाडी र त्यसका चालकलाई मलंगवा ल्याइँदै गरिएकाले दुर्घटनाबारे थप विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डीएसपी विजय यादवले उज्यालो अभियानसँग बताए ।
केही दिनअघि माओवादी केन्द्रको झण्डा लगाएर चुनावी प्रचारमा हिँडेको गाडीले ठक्कर दिँदा ब्रम्हपुरीमा एक भारतीय युवकको ज्यान गएको थियो भने मलंगवा घर भएका बालक गम्भीर घाइते भएका थिए ।