logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

केन्द्रीय सदस्य एवं सर्लाही सह–ईन्चार्ज साहले एमाले छाडिन्


  • उज्यालो अभियान

रीता कुमारीले निकालेको प्रेस वक्तव्य ।

मलंगवा – नेकपा एमालेकी केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला सह–इन्चार्ज रीता कुमारीले नेकपा एमाले परित्याग गरेको घोषणा गरेकी छन् ।

पार्टीले जनता समाजवादी पार्टी (जसपा) सँग चुनावी तालमेल गरेको प्रति असन्तुष्टी जनाउँदै उनले बिहीबार प्रेस वक्तव्य निकाली पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको घोषणा गरेकी हुन् । नाकावन्दीको विरोध गरेर राष्ट्रवादी छवी बनाएको पार्टी अध्यक्ष केपी शर्मा ओलीले नाकाबन्दीको नाईके उपेन्द्र यादवसँग गठजोड गरेर देश र जनतालाई धोका दिने कार्य गरेको उनले विज्ञप्तीमा आरोप लगाएकी छन् ।

अर्कोतर्फ देशमा राजसंस्था पुनः स्थापना गर्ने, संघीयता खारेज गर्ने जस्ता जनविरोधी एजेन्डाहरु प्रधानताका साथ अगाडि बढाएको पार्टी राप्रपासँग एमालेले जनविरोधी गठवन्धन गरेको विज्ञप्तीमा उल्लेख छ । एमाले छाडेकी केन्द्रीय सदस्य रीता कुमारी गत स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट ब्रम्हपुरी गाउँपालिका अध्यक्षको प्रत्यासी थिईन् ।

स्रोतका अनुसार उनी एमाले त्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका नेता प्रभु साहको समूहतर्फ लागेकी छन् । यसअघि एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले पनि एमालेबाट राजिनामा दिएर प्रभुकै खेममा लागिसकेका छन् । न्यौपानेले एमालेका अन्य जिल्ला तहका नेताहरु पनि आफूहरुकै समूहमा आउने तयारीमा रहेको दावी गरेका छन् ।