फाइल तस्बीर ।
मलंगवा – सशस्त्र प्रहरीले सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा निर्वाचन सुरक्षा बेश खडा गरेको छ ।
मङ्सिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी चारवटै निर्वाचन क्षेत्रमा सशस्त्रले डीएसपीको नेतृत्वमा जनशक्ति परिचालन गरेको हो । क्षेत्र नं. १ को सागरनाथ, क्षेत्र नं. २ को मलंगवा, क्षेत्र नं. ३ को हरिवन र क्षेत्र नं. ४ को गोडैतामा निर्वाचन सुरक्षा बेश राखिएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) भरत खनियाँले जानकारी दिए ।
उहाँका अनुसार निर्वाचनका लागि जिल्लामा रहेकाबाहेक काठमाडौँसहित अन्य ठाउँबाट पनि थप मद्धतमा जनशक्ति आउने छन् । सशस्त्र प्रहरीका उपरीक्षक खनियाँले आवश्यकता र संवेदनशीलताको आधारमा जनशक्ति परिचालन हुने र बाहिरी जिल्लाबाट थप मद्धत टोली आइरहेकाले निर्वाचनमा खटिने जनशक्तिको विवरण लिने काम भइरहेको बताए ।
जिल्लामा अहिले सशस्त्र प्रहरीसहित प्रत्येक सुरक्षा निकाय निर्वाचन लक्षित सुरक्षा प्रवन्ध मिलाउन लागि परेका छन् । चुनावलाई लक्षित गरी नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानले पनि सुरक्षा योजना बनाइरहेको जनाएका छन् ।