गोडैता नगरपालिकाले किनेको एम्बुलेन्स । (तस्बीर : उज्यालो अभियान)
गोडैता – सर्लाहीको गोडैता नगरपालिकाले पहिलो पटक आफ्नै एम्बुलेन्स खरिद गरेको छ ।
नगरपालिकाले भन्सार छुटमा २१ लाख रुपैयाँ खर्चेर नगरपालिकाकै एम्बुलेन्स किनेको हो । सो एम्बुलेन्स बुधबार चमेलीमाई मन्दिरमा पूजाआजा गरी संचालनमा समेत ल्याई सकिएको गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादवले बताए ।
जिल्लाको दक्षिणी भेगस्थित भारतसँग सीमा जोडिएको गोडैता नगरपालिकामा यसअघि नेपाल रेडक्रस सोसाइटी उपशाखा सिसौटियाको एउटा र अर्को एउटा निजी एम्बुलेन्स गरी २ वटा एम्बुलेन्स संचालनमा रहेका छन् । रेडक्रसको पुरानो एम्बुलेन्स नगरपालिका आफैले मर्मत गरेर संचालन गरिरहेको छ ।
३२ किलोमिटरमा फैलिएको नगरपालिकाभित्र २ वटा पुराना एम्बुलेन्सले मात्रै सेवा दिन नसकिरहेकाले नगरपालिका आफैले एम्बुलेन्स खरिद गरेको मेयर यादवले बताए । कोरोना संक्रमणपछि सीमापारीबाट भारतीय एम्बुलेन्स आउन आनाकानी गर्दा झनै समस्या थपिएको स्थानीयले बताएका छन् ।
भर्खरै किनेको एम्बुलेन्सले नगरपालिकाको तल्लो बेल्टलाई र रेडक्रसको एम्बुलेन्सलाई माथिल्लो भेगका गाउँहरुलाई लक्षित गरी संचालन गरिने मेयर यादवको भनाई छ । यस्तै, मध्यभागका लागि फेरि अर्को एम्बुलेन्स ल्याउने तयारी भइरहेको उनले बताए ।