नगरपालिकामा धर्ना दिइरहेका शिक्षक । तस्बिर : मुकेश झा
हरिपूर्वा – तलब नपाएपछि सर्लाहीको हरिपूर्वा नगरपालिकाका शिक्षकले २ दिनदेखि विद्यालय बन्द गरी नगरपालिका कार्यालयमा धर्ना दिइरहेका छन् ।
शिक्षकले चरणवद्ध आन्दोलन अन्तर्गत हिजो (आइतबार) देखि धर्ना सुरु गरेका हुन् । नगर सभाबाट बजेट पारित नहुँदा त्यहाँका शिक्षकले गत साउनमा चालू आर्थिक वर्ष सुरु भएदेखि तलब पाएका छैनन् ।
तलब नपाउँदा शिक्षकको महान चाड दशैँ खल्लो भयो । तीहार र छठमा पनि यही अवस्था आउने छाट देखिएपछि शिक्षकले पठनपाठन बन्द गरी विद्यालयमा तालाबन्दी गरेर नगरपालिका कार्यालयमा पुगी धर्ना दिइरहेका हुन् ।
हरिपूर्वामा १६ वटा विद्यालय र ५ वटा मदरसा रहेका छन् । केश्वर गरिब जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्जय कुमार यादवले जनप्रतिनिधिबीचको राजनीतिक द्वन्द्वका कारण आफूहरुले तलब नपाएको गुनासो गरे । आज (सोमवार) नगरपालिका कार्यालयमा मेयर विनोद साह तेली र विपक्षी वडाध्यक्षबीच आन्दोलित शिक्षक समेतको उपस्थितिमा छलफल भएको छ । सो छलफलमा भोली (मंगलबार) कार्यपालिकाको बैठक राख्ने निर्णय भएको छ ।
प्रधानाध्यापक यादवले भोली कार्यपालिका बैठक बसिरहँदा पनि तलब पाउने आधार नहुन्जेल आफूहरुको धर्ना जारी रहने बताएका छन् । जनप्रतिनिधिले आ–आफ्नो स्वार्थ पूरा नहुँदा बजेट पारित नगरेकै कारण आफूहरुले तलब नपाएको शिक्षकको गुनासो छ । त्यहाँ कर्मचारीले पनि तलब पाएका छैनन् भने आर्थिक कारोवार नै नहुँदा विकासका काम ठप्प छ ।
जिल्लाको विष्णु गाउँपालिकामा पनि गाउँ सभाले बजेट पास नगर्दा शिक्षक–कर्मचारीले तलब पाएका छैनन् । पालिका प्रमुख अल्पमतमा हुँदा हरिपूर्वा र विष्णुमा नगर तथा गाउँसभा गरी बजेट पारित हुन सकेको छैन् । भागबण्डामा कुरा नमिल्दा यस्तो अवस्था आएको स्थानीयवासी तर्क गर्छन् ।
यस्तै, जिल्लाको चन्द्रनगर गाउँपालिकाले शिक्षकलाई तलब खुवाउने तयारी भइरहेको जनाएको छ । चन्द्रनगरमा पनि तलब नपाउँदा शिक्षक आन्दोलित छन् ।