logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

साना किसान शंकरपुरको १६ औँ साधारण सभा सम्पन्न, अध्यक्षमा श्रेष्ठ चुनिए


  • उज्यालो अभियान

संस्थाको साधारण सभा समारोह । (तस्बीर : उज्यालो अभियान)

शंकरपुर – सर्लाहीको बागमती नगरपालिका–१०, शंकरपुर सोल्टीमा रहेको साना किसान कृषि सहकारी संस्थाको आइतबार १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष कमल कुमारीको अध्यक्षता तथा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकको प्रमुख आतिथ्यतामा संस्थाको सोल्टीस्थित गाजली चोकमा रहेको निर्माणाधीन दाना उद्योगको जग्गामा साधारण सभा सम्पन्न भएको हो । सभामा बरहथवा नगरपालिकाकी मेयर कल्पनाकुमारी कटुवाल, बागमती नगरपालिकाकी उपमेयर लिलाकुमारी मोक्तान, समाजसेवी जवाहारलाल कुशवाहालगायतको आतिथ्यता रहेको थियो ।

साधारण सभामा संस्थाले गएको आर्थिक वर्ष २०७८/०७९ मा ८० करोड १३ हजार ९२० रुपैयाँ ३७ पैसा कूल कारोवार गरी १ करोड ४९ लाख २५ हजार ६१८ रुपैयाँ ६० पैसा खूद मुनाफा आर्जन गरेको जानकारी गराइएको छ । यस्तै, साधारण सभाको बन्द सत्रले भूपेन्द्रमान श्रेष्ठ अध्यक्ष रहने गरी १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

संचालक समितिको उपाध्यक्षमा मोहित महासेठ, सदस्यहरुमा जंगबहादुर महतो, भुवनप्रसाद निरौला, विजय राय, किशुन महतो, राजकुमार महतो, गायत्री खत्री, कौशल कुमार सिंह, मोहम्मद मुर्तुजा रहेका छन् । यसैगरी, सदस्यहरुमा इन्द्रप्रसाद पोखरेल, सविता गौतम कार्की, भक्तबहादुर भुजेल, शिवमाया खरेल र दिलमाया योन्जन रहेका संस्थाले जनाएको छ ।

साधारण सभाका अवसरमा संस्थाले ज्येष्ठ शेयर सदस्य, असल बचतकर्ता, नियमित साँवा ब्याज बुझाउने ऋणीलगायतलाई सम्मान गरेको संस्थाका प्रवन्धक माधवप्रसाद काफ्लेले जानकारी दिए ।