सांकेतिक तस्बिर ।
लालबन्दी – सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवासमा रहेको इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी नायब निरीक्षक (सई) लालबाबु पाल मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा असई विपीन झा पनि सामान्य घाइते भएका छन् । सवारी दुर्घटनाकै सीसीटिभी फुटेज खोज्न भन्दै बयलवासबाट लालबन्दीतर्फ आउँदै गर्दा सई पाल र असई झा चढेको मोटरसाइकल पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका–१७, रानिगन्जमा बुधबार दिउँसो साँढे ३ बजेतिर दुर्घटनामा परेको हो ।
प्रत्यक्षदर्शीका अनुसार सई र असई सवार मोटरसाइकल कुकुरसँग ठोक्किएपछि अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका सई पालको टाउकोमा चोट छ । असई झा भने खतरामुक्त नै रहेको बुझिएको छ ।
उनीहरु दुवैलाई दुर्घटना लगत्तै उपचारका लागि लालबन्दीस्थित गढिमाई अस्पताल ल्याइएको थियो । यहाँबाट थप उपचारका लागि धनुषाको लालगढ पुर्याएको थियो । त्यहाँ पुर्याएपछि हेलिकप्टरमार्फत काठमाण्डौं लान नेपाली सेनाको हेलिकप्टर झिकाइयो । तर, साँझ परेपछि आएको हेलिकप्टर मौसम खराबीले गर्दा उड्न नसकेपछि अहिले महोत्तरीको बर्दिवासस्थित नेपाली सेनाको ब्यारेकमा राखिएको छ ।
हेलिकप्टरबाट काठमाण्डौं पठाउन असम्भव भएपछि सिटीस्क्यान गर्न र थप उपचारका लागि घाईते सई र असई दुवैलाई जनकपुरस्थित काब्या अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय केशरगन्जका प्रमुख (इन्स्पेक्टर) रोशन थापाले उज्यालो अभियानसँग बताएका छन् । प्रनि थापाले उद्धारका लागि आएको हेलिकप्टर आज राति बर्दिवासस्थित सेनाको ब्यारेकमै बस्ने र घाइतेको अवस्था सुधार नभए भोली त्यही हेलिकप्टरमा काठमाण्डौं पठाइने जनाए ।