logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीमा गठवन्धनका ९ ‘बागी’ उम्मेदवार, फिर्ता गराउन केन्द्र गुहारियो


  • उज्यालो अभियान

गठवन्धन सर्लाहीको प्रेस विज्ञप्ती ।

मलंगवा – सर्लाहीमा सत्तारूढ गठबन्धनको बैठकले बागी उम्मेदवार उठेका सबैलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।

जिल्लामा सत्ता गठबन्धनबाट ९ जनाले बागी उम्मेदवारी दिएकामा सबैभन्दा बढी माओवादीका ८ जना छन् । माओवादीका बागी उम्मेदवारका कारण गठबन्धन नै भत्किने अवस्था भएकाले यो निर्णयबारे शीर्ष नेतालाई पनि जानकारी गराउने निर्णय भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धनकै ९ जनाले बागी उम्मेदवारी दिएपछि गठबन्धनको बैठक बसेर फिर्ता लिन आग्रह गरेको हो । मंगलबार दिउँसो सदरमुकाम मलंगवास्थित कांग्रेसको पार्टी कार्यालयमा कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहको अध्यक्षतामा बसेको बैठकले आ–आफ्ना दलको शीर्ष नेतृत्वलाई यसबारे जानकारी गराएर बागी उम्मेदवारी फिर्ताका लागि निर्देशन दिन आग्रह गर्ने निर्णय पनि भएको छ ।

बैठकले बागी उम्मेदवारको नाम किटान गरेर सम्बद्ध पार्टीलाई उम्मेदवारी फिर्ताका लागि पहल गर्न आग्रह गरेको छ । उम्मेदवारी फिर्ताको विषयलाई गठबन्धन दलले गम्भीर रूपमा लिएका छन् ।

बागी उम्मेदवारी फिर्ता नभए गठबन्धन टुटने सम्भावना बढेपछि बैठक बसेको हो । सर्लाहीको क्षेत्र नं. १ को (क) मा माओवादीका रामचन्द्र कुशवाहा र (ख) मा राजनकुमार श्रेष्ठ बागी उम्मेदवार छन् ।
यस्तै, क्षेत्र नं. २ को (क) मा कांग्रेसका शियाराम राय र क्षेत्र नं. ३ को (क) मा माओवादी केन्द्रका जवाहार कुशवाहा बागी उम्मेदवार रहेका छन् । त्यस्तै, क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्यतर्फ माओवादी केन्द्रकी मधुमाला यादवले बागी उम्मेदवारी दिएकी छन् ।

क्षेत्र नं. ४ (क) मा माओवादी केन्द्रका प्रितम कुमार यादव, क्षेत्र नं. ४ कै (ख) मा माओवादी केन्द्रका तीन जना नेता श्रीचन यादव, महेन्द्र यादव र अनिता यादवले बागी उम्मेदवारी दिएका छन् । बैठकले उनीहरु सबैलाई गठगन्धनभित्रका सबै दलले आ–आफ्नो दल र दलका शिर्षस्त नेतामार्फत उम्मेदवारी फिर्ता गराउन पहल गर्ने निर्णय भएको बैठकमा सहभागी नेकपा (एकीकृत समाजवादी) पार्टीका स्थायी कमिटी सदस्य लक्ष्मण पौडेलले जानकारी दिए ।

बैठकमा सहभागी अर्का कांग्रेस सर्लाहीका सचिव निरोज कार्कीले बैठकको माइन्यूट खिचेर शिर्षस्त नेताहरुलाई पनि पठाइएको जानकारी दिए । बैठकपछि नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह, माओवादी केन्द्र सर्लाहीका जिल्ला इन्चार्ज अच्यूतम काफ्ले, नेकपा (एकीकृत समाजवादी) पार्टी सर्लाहीका अध्यक्ष सुरेन्द्र लामा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सर्लाहीका उपाध्यक्ष मो. हुसेन खानद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा यी विषय उल्लेख छ ।

मंसिर ४ को निर्वाचनका लागि उम्मेदवारी दर्तापछि सर्लाहीमा मंगलबार पहिलो पटक बसेको गठवन्धन दलको बैठकमा क्षेत्र नं. ४ मा बागी उम्मेदवारी दिएका कांग्रेस नेता डा. अमरेशकुमार सिंहको नाम बागीको लिष्टमै परेन । अमरेशलाई पार्टीले ३ महिनाअघि नै निष्काशन गरिसकेको र उहाँलाई कांग्रेसको बागी उम्मेदवार भन्न नमिल्ने कांग्रेस सर्लाहीका एक नेताले उज्यालो अभियानसँग बताए ।

क्षेत्र नं. ४ बाट अमरेशलाई आउट गर्दै कांग्रेसका निवर्तमान जिल्ला सभापति नागेन्द्रकुमार रायलाई टिकट दिइएको छ ।