आईतबार दिउँसो प्यानल बनाएरै उम्मेद्वारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय लालबन्दीमा जाँदै गरेका मान बहादुर खड्का, राम चन्द्र सिंह कुशवाहा र राजन कुमार श्रेष्ठ । (तस्बिर : सामाजिक संजाल)

लालबन्दी – सर्लाही क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य तथा दुवै प्रदेश सभा सदस्यमा सत्ता गठबन्धन र विपक्षी गठबन्धनका नेताहरुले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएर ‘बागी’को प्यानल नै बनाएका छन् ।
विपक्षी गठबन्धन अन्तर्गत नेकपा एमालेका नेता मान बहादुर खड्काको नेतृत्वमा स्वतन्त्र(बागी) प्यानल बनेको हो । विपक्षी एमाले–जसपा गठवन्धनबाट निवर्तमान सांसद प्रमोद साहले टिकट पाएपछि खड्काले स्वतन्त्रबाट बागी उम्मेदवारी दर्ता गराएका हुन् । खड्का लालबन्दी नगरपालिकाको निवर्तमान मेयर समेत हुन् । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पार्टीले अन्तिम समयमा उनको मेयरको टिकट खोसेर नेता गोविन्द महतलाई प्रदान गरेको थियो । जसपासँग गठवन्धन भएपनि भित्रभित्रै खड्कालाई एमालेको साथ छ ।
नेपाली कांग्रेसका आकांक्षी शम्भुलाल श्रेष्ठ र एमालेका आकांक्षी खड्काले टिकट नपाएपछि उनीहरु दुईसहित नेपाली कांग्रेस र एमालेका नेताहरुबीच दुई जनामध्ये एक जनाले स्वतन्त्रमा उम्मेदवारी दिर्नै पर्ने भन्दै आइतबार बिहानैदेखि घण्टौँसम्म छलफल चलेको थियो । त्यस्तै असन्तुष्ट माओवादी नेता कार्यकर्ताहरुसँग पनि खड्काले छलफल गरेका थिए । सत्ता गठबन्धन अन्तर्गत कांग्रेस तथा माओवादीका असन्तुष्ट नेता कार्यकर्ताहरुले आफूहरुको समेत समर्थन रहने वाचा दिएपछि अन्तिममा खड्काले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउने क्रममा माओवादीकै नेताहरुले खड्काको फाइल बोकेर हिँडिरहेका देखिन्थ्यो ।
प्रतिनिधि सभा सदस्य उम्मेद्वार बनेका खड्काको नेतृत्वमा प्रदेश क मा माओवादीबाटै रामचन्द्र सिंह कुशवाहाले र ख मा माओवादीकै राजन कुमार श्रेष्ठ समेत स्वतन्त्र बागी बनेर खडा भएका छन् । सोमबार बिहान प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेद्वार खड्का, प्रदेश सभा क का माओवादी उम्मेद्वार कुशवाहा र ख का स्वतन्त्र उम्मेद्वार श्रेष्ठले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै स्वतन्त्रको प्यानल नै बनाएको पुष्टी गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायत बुद्धिजीवी, आम नागरिकहरुको शुभेच्छा र सुझावबाट आफूहरुले स्वतन्त्र उम्मेद्वारी दिएको तीनैजनाको हस्ताक्षर रहेको विज्ञप्तिमा उल्लेख छ ।
क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फ खड्कासँगै विपक्षी एमाले–जसपाको गठवन्धनबाट प्रमोद साह र सत्ताधारी गठवन्धनबाट लोसपाका रामप्रकाश चौधरी अन्य केही साना दल र स्वतन्त्र उम्मेदवारहरु बेनिबहादुर कार्की, बैकुण्ठ सापकोटा सहित २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै प्रदेश सभा क मा सत्ता गठबन्धनकै माओवादी केन्द्रबाट उम्मेद्वारी दिएका राम चन्द्र सिंह कुशवाहा सहित सत्ताधारी गठबन्धनबाटै लोसपाका उपेन्द्र महतो, विपक्षी गठबन्धनबाट जसपाका अहमद् मिया मुकेरी सहित २० जनाको उम्मेद्वारी परेको छ । सत्ताधारी गठबन्धन भित्रै प्रदेश क मा लोसपाबाट उपेन्द्र महतोको समेत उम्मेद्वारी परेपछि सत्ता गठबन्धन अन्तर्गत माओवादीका कुशवाहा स्वतन्त्र रुपमा बागी उम्मेद्वारी दिएका मान बहादुर खड्काको प्यानलमा समेटिएका हुन् ।
त्यस्तै प्रदेश ख मा स्वतन्त्र रुपमा बागी उम्मेद्वारी दिएका माओवादी केन्द्रका राजन कुमार श्रेष्ठ सहित सत्ताधारी गठबन्धन अन्तर्गत नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली, विपक्षी गठबन्धन अन्तर्गत नेकपा एमालेकी शान्ती कुमारी लामा सहित विभिन्न साना पार्टी र स्वतन्त्र गरी १२ जनाको उम्मेद्वारी परेको छ ।