हरिपूर्वा – सर्लाहीको हरिपूर्वा नगरपालिकाका शिक्षकले तलब माग गर्दै सोमबार नगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
नगरसभाले बजेट पास नगर्दा हरिपूर्वाका शिक्षक तथा कर्मचारीले महान चाड दशैँमा समेत तलब खान पाएनन् । गएको साउनदेखि तलब नपाएपछि मारमा परेका शिक्षकले तलब माग गर्दै सोमबार नगरपालिका कार्यालय पुगी प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपानेलाई ज्ञापन पत्र बुझाएका हुन् ।
सोमबार नै नगरपालिकाभित्र रहेका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरुको बैठक बसेर आर्थिक वर्ष २०७९÷०८० को प्रथम त्रैमासिक तलब भत्ता निकासा गर्न माग गर्दै नगरपालिका कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा असोज २६ गतेसम्म तलब पाउने वातावरण नभए २७ गतेदेखि चरणवद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिइएको छ ।
आन्दोलनको कार्यक्रम अन्तर्गत २७ गते बिहीबार कालोपट्टी बाँधेर कक्षा शिक्षण गर्ने, २८ गते शुक्रबार पेन डाउन गर्ने र ३० गते आइतबारदेखि अनिश्चितकाल सम्पूर्ण विद्यालय बन्द गरी नगरपालिका कार्यालयमा धर्ना दिने उल्लेख छ । राजनीतिक सहमती जुट्न नसक्दा हरिपूर्वा नगरपालिकामा कार्यपालिका बैठक नै बस्न सकेको छैन् ।
बैठक बस्नै नसक्दा बजेट पारित हुन नसकिरहेको हो । तलब, भत्ता नपाउँदा दशैँ खल्लो भएको भन्दै शिक्षकले तीहार र छठ पर्वमा पनि यस्तै अवस्था आउने देखेर बैठक बसी नगरपालिकालाई तलब खुवाउने वातावरण बनाउन दबाब दिएका हुन् ।
जिल्लाको विष्णु गाउँपालिकामा पनि बजेट पारित हुन नसक्दा ठ्याक्कै यही अवस्था रहेको छ । दुवै पालिकामा विकास निर्माणसँगै अन्य आर्थिक गतिविधि ठप्प छ ।