logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

एमाले नेता मानबहादुर खड्काको सर्लाही १ मा स्वतन्त्र उम्मेदवारी


  • उज्यालो अभियान

मानबहादुर खड्का ।

लालबन्दी – नेकपा एमालेका नेता मानबहादुर खड्काले सर्लाही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले–जसपा गठवन्धनबाट निवर्तमान सांसद प्रमोद साहले टिकट पाएपछि खड्काले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । खड्का लालबन्दी नगरपालिकाको निवर्तमान मेयर हुन् ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पार्टीले अन्तिम समयमा उनको टिकट खोसी नेता गोविन्द महतलाई मेयरको टिकट प्रदान गरेको थियो । जसपासँग गठवन्धन भएपनि भित्रभित्रै खड्कालाई एमालेको साथ छ ।

नेपाली कांग्रेसका आकांक्षी शम्भुलाल श्रेष्ठ र एमालेका आकांक्षी खड्काले टिकट नपाएपछि उनिहरु दुईसहित नेपाली कांग्रेस र एमालेका नेताहरुबीच दुई जनामध्ये एक जनाले स्वतन्त्रमा उम्मेदवारी दिर्नै पर्ने भन्दै आइतबार बिहानैदेखि घण्टौँसम्म छलफल चलेको थियो । कांग्रेस नेताहरुले आफूहरुको समेत समर्थन रहने वाचा दिएपछि अन्तिममा खड्काले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका हुन् ।

स्रोतका अनुसार खड्कालाई नेकपा माओवादी केन्द्रको पनि भित्री समर्थन छ । उम्मेदवारी दर्ता गराउने क्रममा माओवादीकै नेताहरुले खड्काको फाइल नै बोकेर हिँडिरहेका देखिन्थ्यो ।

क्षेत्र नं. १ मा अब खड्कासँगै एमाले–जसपाको गठवन्धनबाट प्रमोद साह र सत्ताधारी गठवन्धनबाट रामप्रकाश चौधरीसहित अन्य केही साना दल र स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छन् ।