logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

लालबन्दीमा क्षेत्र नं. १ र हरिवनमा क्षेत्र नं. ३ को निर्वाचन अधिकृतको कार्यालय स्थापना


  • उज्यालो अभियान

लालबन्दीमा १ नम्वर क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै ।

लालबन्दी – मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज (बिहीबार) सर्लाहीको क्षेत्र नं. १ र ३ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

क्षेत्र नं. १ को लालबन्दीस्थित पुरानो नगरपालिका भवन र क्षेत्र नं. ३ को हरिवनस्थित मालपोत कार्यालयको नवनिर्मित भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । यसअघि हिजो मात्रै क्षेत्र नं. ४ को गोडैतास्थित बेणीभोला नमूना माध्यमिक विद्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो ।

त्यस्तै, त्यसअघि गएको मंगलबार मलंगवास्थित जिल्ला समन्वय समिति (साबिक जिविस) भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले क्षेत्र नं. २ को निर्वाचन अधिकृत कार्यालयको काम समेत गर्ने छ ।

सर्लाहीमा चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै मंसिर ४ को निर्वाचनको तयारी अघि बढेको छ । निर्वाचन कार्यतालिका अनुसार असोज २३ गते कोजाग्रत पूर्णिमाका दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय छ ।

सर्लाहीका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खुलेसँगै पर्सी २२ गते सर्वदलिय बैठक राखेर दलहरुसँग छलफल गरिने र २३ गतेका लागि तय मनोनयन दर्ताको कामका लागि तयारी अघि बढाइने उज्यालो अभियानसँग बताएका छन् ।

उम्मेदवारी दर्ताको लागि अब ३ दिन मात्रै बाँकी छँदा जिल्लामा मुख्य दलहरुले भने उम्मेदवार छानिसकेका छैनन् । टिकट हत्याउन आकांक्षी नेताहरु काठमाण्डौं पुगेर शिर्षस्त नेताहरुसँग भेट गरिरहेका छन् ।

मंसिर ४ को निर्वाचन गराउन सर्लाहीमा जिल्ला अदालतका १ नम्वर न्यायाधीय कविप्रसाद न्यौपानेले मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी पाएका छन् । उनले क्षेत्र नं. २ को निर्वाचन अधिकृतको जिम्मेवारी पनि सम्हालेका छन् ।

यस्तै, क्षेत्र नं. १ मा सर्वोच्च अदालतका उपसचिव प्रदीपराज उपाध्याय, क्षेत्र नं. ३ मा कानून मन्त्रालयका उपसचिव वशिष्ठकुमार घिमिरे र क्षेत्र नं. ४ मा सर्वोच्च अदालतका उपसचिव शम्भुप्रसाद बरालले निर्वाचन अधिकृतको जिम्मेवारी पाएका छन् । यो पटक उम्मेदवारको मनोनयन दर्तासहित अन्य प्रक्रियागत काम र मतदान सम्पन्न भएपछि मतगणना कार्य पनि सम्वन्धित निर्वाचन क्षेत्रमा खुलेका निर्वाचन अधिकृतको कार्यालयमै हुने छ ।

यसअघि यि सबै काम सदरमुकाम मलंगवाबाटै हुन्थे । मंसिर ४ को निर्वाचनका लागि सर्लाहीमा ३१२ मतदानस्थल अन्तर्गत ६०० मतदान केन्द्र कायम गरिएको छ भने मतदाता ४ लाख ७९ हजार ३८ जना पुगेका छन् ।

जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख निर्मल पोखरेलले चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खुलेसँगै अब निर्वाचन तयारीको कामले झनै तीव्रता पाउने बताएका छन् ।