सर्लाहीको हरिवन ८ चापिनीमा लिंगे पिंग हाल्न लठ्ठा बाट्दै गरेका स्थानीय ।
लालबन्दी – सर्लाहीमा दशैँको रौनकता बढ्दा गाउँ–गाउँमा बेग्लै किसिमको उल्लास छाएको छ ।
जिल्लामा ईश्वरपुर, लालबन्दी, हरिपुर, हरिवन, बरहथवा, बागमतीलगायत पालिकाका ग्रामीण बस्तीहरु दशैँमय बनेका छन् । दशैँ मनाउन सबै गाउँघर आएकाले बेग्लै प्रकारको उल्लास छ । तर, पहिले–पहिले जस्तो सामिप्यता र एकता गाउँघरमा पनि कम हुँदै गएको बुढापाकाहरु बताउँछन् ।
लिंगे पिङ हराउँदै गएका छन् । वैदेशिक रोजगारीमा गएका तथा अध्ययन र कामको सिलसिलामा संघीय राजधानी काठमाण्डौंसहित अन्य ठाउँमा पुगेकाहरु अहिले घर गाउँमा फर्किएका छन् ।
दशैँले गाउँ–गाउँमा उल्लास छाएपनि बजार क्षेत्र भने सुनसान देखिएका छन् । लालबन्दी, हरिवनजस्ता मुख्य बजार क्षेत्र आजबाट सुनसान जस्तै बनेका छन् ।
व्यापारीहरुले कोरोना संक्रमणपछि व्यापारमा उल्लेख्य कमी आएको बताउँछन् । आयआर्जन न्यून तर बजारमा महँगी चुलिँदा किनमेल गर्नै नसक्ने अवस्था आएको अधिकांशको मुखबाट सुनिन्छ ।