मलंगवा – सर्लाहीमा आज (मंगलबार) मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
मङ्सिर ४ गते हुने प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सदरमुकाम मलङ्गवास्थित जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । सर्लाहीमा मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी सर्लाही जिल्ला अदालतका न्यायाधीश कविप्रसाद न्यौपानेले पाएका छन् ।
न्यौपानेले क्षेत्र नं. २ को निर्वाचन अधिकृतको जिम्मेवारी समेत सम्हाल्ने छन् । यस्तै, क्षेत्र नं. १ मा प्रदीपराज उपाध्याय, क्षेत्र नं. ३ मा वशिष्ठकुमार घिमिरे र क्षेत्र नं. ४ मा शम्भुप्रसाद बरालले निर्वाचन अधिकृतको जिम्मेवारी पाएका छन् ।
यो पटक सर्लाहीको चारवटा निर्वाचन क्षेत्रका लागि सम्वन्धित निर्वाचन क्षेत्रमै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ । क्षेत्र नं. २ बाहेक बाँकी तीनवटा निर्वाचन क्षेत्रमा पनि तत्कालै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनको काम अघि बढाइने जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख निर्मल पोखरेलले उज्यालो अभियानलाई जानकारी दिए ।
जिल्ला निर्वाचन अधिकारी पोखरेलका अनुसार चारवटा निर्वाचन क्षेत्रको मतदान सम्पन्न भएपश्चात मतगणना पनि निर्वाचन अधिकृतकै कार्यालयमा हुने छ । यसअघि चारवटै निर्वाचन क्षेत्रको सदरमुकाम मलंगवामा मतगणना हुने गरेको थियो ।
मङ्सिर ४ को निर्वाचनका लागि क्षेत्र नं. १ मा लालबन्दी नगरपालिकाको पुरानो भवन, क्षेत्र नं. २ मा जिल्ला समन्वय समिति (साबिक जि.वि.स.) को भवन, क्षेत्र नं. ३ मा हरिवनस्थित मालपोत कार्यालयको नवनिर्मित भवन र क्षेत्र नं. ४ मा गोडैतास्थित बेणीभोला नमूना माध्यमिक विद्यालयमा निर्वाचन अधिकृतको कार्यालय रहने छ ।
मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, भैरवी दल गण पाँचकुमारीका गणपति अभिषेक कार्की, प्रहरी उपरीक्षक प्रवीण पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक चन्दन झालगायतको उपस्थिति रहेको थियो ।
प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि असोज २३ गते आइतवार कोजाग्रत पूर्णिमाका दिन उम्मेदवारी दर्ताको कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
निर्वाचनका लागि सर्लाहीमा ३१२ मतदानस्थल अन्तर्गत ६०० मतदान केन्द्र कायम गरिएको छ भने मतदाता ४ लाख ७९ हजार ३८ जना पुगेका छन् ।