कालिन्जोर – सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. १२ मा पर्ने पिपलदमार, लामिदमार र शीरफूल्जोर क्षेत्रमा सडक मर्मतको काम सुरु गरिएको छ ।
नगरपालिकाको दुर्गम भेगमा पर्ने चुरेक्षेत्रस्थित त्यस क्षेत्रमा नगरपालिकाले जेसिब पठाएर खोलाको बगर तथा डाँडापाखाका बाटो मर्मतको काम गराइरहेको हो । बर्खाको बेला त्यसक्षेत्रमा पानी परेपछि बाटो अवरुद्ध भई कुनै पनि यातायातका साधन चल्दैनन् ।
पानी पर्न रोकिएपछि हिउँदका महिनामा भने खोलाको बगर भएर ट्याक्टर, अन्य मालवाहक सवारी र बस चल्ने गरेका छन् । चाडपर्वको समयमा बाटो भताभुंग भई गाडी नचल्दा स्थानीयलाई किनमेलका लागि बजारसम्म आउन अप्ठेरो परेपछि नगरपालिकाले जेसिबी पठाएर मर्मतको काम गराएको हो ।
ईश्वरपुरका नगरप्रमुख (मेयर) मनोजकुमार आचार्यले स्थानीयको दुःखलाई मध्यनजर गर्दै जेसिबी पठाई बाटो मर्मतको काम अघि बढाइएको बताए ।
हिउँदमा मात्रै खोलाको बगर भएर गाडी चल्ने लालबन्दी नगरपालिकाको वडा नं. १४ नारायण खोलामा पनि केही दिनअघिबाट बाटो मर्मत गरी सिन्धुलीको मरिणसम्म नै बस चलाउन थालिएको छ । पिपलदमार, नारायण खोलासहित चुरेभेगका वासिन्दा पानी परेर फेरि खोलाको बाटो बगाउने हो की भन्ने चिन्तामा छन् ।