हरिवन – शैलेश–जननी फाउण्डेसनले सर्लाहीको हरिवनमा रहेको महादेव जनता नमूना माध्यमिक विद्यालयका चार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।
फाउण्डेसनले विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत दुई/दुई जना गरी चार जना छात्रालाई विद्यालयमा बुझाउनुपर्ने सम्पूर्ण शुल्क बुझाइ पूर्ण छात्रवृत्ति प्रदान गरेको हो । विद्यालयको कक्षा ११ मा अध्ययनरत अम्बिका कुमारी खत्री र निका मल्ल आले तथा कक्षा १२ मा अध्ययनरत ज्योति विक र मन्दिरा थापालाई विपन्न अनि जेहेन्दारको हिसाबले छात्रवृत्ति प्रदान गरिएको फाउण्डेसनले जनाएको छ ।
यसै वर्षदेखि छात्रवृत्ति प्रदान गर्न थालेको फाउण्डेसनले कक्षा ११ की अम्बिका र निकाको कक्षा ११ तथा १२ दुवै कक्षाको शुल्क र कक्षा १२ मा अध्ययनरत ज्योति र मन्दिरको कक्षा १२ मा लाग्ने सम्पूर्ण खर्च आज (आइतबार) एक कार्यक्रमका बीच विद्यालयलाई प्रदान गरेको छ । हरिवन नगरपालिका–११ घरभइ हाल अमेरिकामा बस्ने समाजसेवी शैलेश मैनालीले विपन्न समुदायको छात्रालाई अध्ययनमा टेवा पुगोस् भन्ने उद्देश्यले शैलेश–जननी फाउण्डेसन स्थापना गरी अब बर्सेनि यसैगरी चार जना छात्रालाई छात्रावृत्ति प्रदान गर्ने भएका छन् ।
विद्यालयका प्रधानाध्यापक जयशङ्कर सिंहको अध्यक्षता तथा हरिवन नगरपालिका ८ का वडाध्यक्ष प्रज्वल ढुङ्गानाको प्रमुख आतिथ्यतामा चारै जना छात्रालाई छात्रवृत्ति प्रदान गरिएको फाउण्डेसनका सहयोगी युवराज भण्डारीले जानकारी दिए । कार्यक्रममा भरतकुमार कार्की, धनराज बुढाथोकी, सुकदेव कार्की, नारायण कार्की, विप्लव कार्की, जोतनारायण रौनियारलगायतको उपस्थिति रहेको थियो ।