मलंगवा – जिल्ला प्रशासन कार्यालय सर्लाहीले विश्वकर्मा पूजा मर्यादापूर्वक मनाउन आग्रह गरेको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) थानेश्वर गौतमले शुक्रबार एक सूचना जारी गर्दै विश्वकर्मा पुजा शान्तिपूर्ण रुपमा मर्यादापूर्वक मनाउन जिल्लावासीलाई आग्रह गरेका हुन् । उनले सूचनामार्फत चाडपर्वको नाममा चर्को आवाजमा डिजे बजाउने, आर्केस्ट्रा नचाउने, सार्वजनिक स्थलहरुमा हो–हल्ला गर्ने, मादक पदार्थ तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउने जस्ता अवाञ्छित क्रियाकलाप तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरु नगर्न÷नगराउन आह्वान गरेका छन् ।
अवाञ्छित क्रियाकलाप गरे÷गराइएको पाइएमा कानून बमोजिम कारवाही भई जाने सूचनामा उल्लेख छ । हिन्दु धर्मावलम्वीहरुले शनिबार विभिन्न फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर बिश्वकर्मा पूजा मनाउदै छन ।
यस अवसरमा केहीले विश्वकर्माको मूर्ति बनाई पूजा गर्ने र प्रसाद चढाउने पनि गर्दछन् । शनिबार पूजा गरिएको मूर्तिलाई आइतबार बिहान नजिकैको पोखरी, खोला वा नदीमा लगि बिसर्जन गरेपछि विश्विकर्मा पूजा समापन हुन्छ ।
विश्वकर्माको मूर्ति विर्सजनका क्रममा सर्लाहीमा फरक–फरक समुदायबीच कतैकतै विवाद हुने गरेको छ । विश्वकर्मा पूजा मनाउने र मूर्ति बिसर्जन गर्नेक्रममा अघिल्ला वर्ष विवाद तथा झडप भएका ठाउँहरुमा उच्च सुरक्षा सतर्कता अपनाइने जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण पोखरेलले संवेदनशीलतालाई ख्याल गर्दै विवाद हुनसक्ने क्षेत्रमा आवश्यक मात्रामा प्रहरी परिचालन गरिने बताए ।