हरिपूर्वा – वल्डभिजन इन्टरनेशनलको आर्थिक सहयोगमा बागमती सेवा समाज नेपाल र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (आरआरपिके) ले सर्लाहीको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकामा संचालन गरेका कार्यक्रमको बिहीबार अनुगमनसहित छलफल गरिएको छ ।
ती दुई पालिकामा संचालन भएको विभिन्न तालिम, अति जोखिममा परेका बालबालिकालाई सहयोग सामग्री वितरण, पालिका स्तरीय बालमैत्री तथा बाल संजाल, विद्यालय पोषण, किशोरीहरुलाई प्रजनन तालिम, घटना व्यवस्थापन तालिम गरेको र त्यही कार्यक्रमको आज जिल्ला स्तरीय अनुगमन गरिएको हो । त्यस्तै, संस्थाको सहयोगमा विभिन्न साना व्यवसाय संचालन गरिरहेकाहरुको व्यवसाय समेत अनुगमन गरिएको छ ।
बागमतीका कार्यक्रम संयोजक प्रमेश बादे र आरआरपिकेका सिकाई परियोजनाका कार्यक्रम संयोजक नागेन्द्र साहले सहभागीहरुलाई कार्यक्रमबारे प्रष्ट पारेका थिए । दुई संस्थाले संचालन गरेको विभिन्न कार्यक्रमहरुबाट आफूहरु लाभान्वित भइरहेको सहभागी किशोरी पिंकी शर्माले बताईन् ।
अनुगमनमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिल्ला प्रहरी प्रमुख प्रवीण पोखरेल, जिल्ला समन्वय समितिका उपप्रमुख जीतेन्द्रकुमार महतो, बागमती सेवा समाजका अध्यक्ष भरतकुमार कार्की, आरआरपिकेका अध्यक्ष गायत्री महतो, पर्सा गाउँपालिका ५ का वडाध्यक्ष अनिलकुमार यादव, जनता मावि पर्साका प्रधानाध्यापक राजकिशोर रायलगायतको सहभागिता रहेको थियो ।