logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिपुरमा नगरस्तरीय मुसहर महिला सशक्तीकरण संजाल गठन


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपुरमा मंगलबार नगरपालिका स्तरीय मुसहर महिला सशक्तीकरण संजाल गठन गरिएको छ ।

लक्ष्मी पासवानको अध्यक्षतामा हरिपुरको जुटपानी, चिताइन, पिडारी, मर्जुवा, हात्तीसार र लक्ष्मीपुरका मुसहर माझी महिलालाई समेटेर ११ सदस्यीय संजाल गठन गरिएको हो । संजालले आगामी दिनमा माझी मुसहर समुदायको आर्थिक, सामाजिक, राजनीतिक लगायत मुद्दामा पैरेवी गर्ने छ ।

संजालको उपाध्यक्षमा परमदेवी माझी, सचिवमा संन्तरा पासवान, कोषाध्यक्षमा संगितादेवी माझी, सहसचिवमा आशादेवी माझी, सदस्यहरुमा सोमिन्दर माझी, पल्टनीया देवी, उर्मिला दास, उर्मिला देवी माझी, जयकुमारी माझी र राजोदेवी माझी रहेका छन् । संजालले अब वडा कार्यालय तथा नगरपालिकासम्म पुगेर मुसहर समुदायको उत्थान तथा विकासका लागि जनप्रतिनिधिलाई घच्घच्याउने लगायत काम गर्ने छ ।

हरिपुरमा १० वटा मुसहर महिला सशक्तीकरण समूहमा ५०० जना मुसहर महिलालाई समेटिएको छ । यस्तै, अन्डेफको सहयोगमा साउथ एशिया पाटनरशीप–नेपाल (साप नेपाल) को पहलमा मुसहर महिला सशक्तीकरण मञ्च अन्तर्गत सर्लाहीको चन्द्रनगर गाउँपालिका, बसबरिया गाउँपालिका, हरिपुर नगरपालिका र बरहथवा नगरपालिकामा ३२ वटा मुसहर महिला कृषक समूह गठन गरिएको छ ।

ती समूहमा एक हजार ६०० मुसहर महिलालाई सहभागी गराई सचेतना जगाउने, बचत गर्न पोत्साहन गर्ने, वडा तथा पालिकाको कार्यालयमा पहुँच पु¥याउनेलगायतको काम गर्दै आइरहेको साप–नेपालका कार्यक्रम संयोजक जनक कार्कीले जानकारी दिए ।