विवाद उत्पन्न भएको जग्गामा रहेका घरहरु । (तस्बिर : उज्यालो अभियान)
परवानिपुर – सर्लाहीको लालबन्दी नगरपालिका–१६, परवानिपुर चौकमा रहेको ऐलानी जग्गामा विद्यालय र स्थानीयले दावी गर्दा विवाद बढेको छ ।
सो जग्गामा वर्षौदेखि स्वामित्वको विषयलाई लिएर टकराब भइरहेको अवस्थामा अहिले भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीको फारम भर्ने बेला डिम जनता माध्यमिक विद्यालय वा स्थानीयवासीमध्ये कस्ले आफ्नो दावी गर्दै फारम भर्ने भनेर विवाद उत्पन्न भएको हो । स्थानीयले आफूहरुले वर्षौअघिदेखि त्यहाँ बस्दै आएकाले सो जग्गाको लालपूर्जाका लागि आफूहरुले फाराम भर्न पाउनुपर्ने माग गरेका छन् ।
विद्यालयको डिलमै रहेको ऐलानी जग्गामा स्थानीय अजय खड्का, जितबहादुर थापा, थमकुमारी भण्डारी, ज्ञानबहादुर खड्का, गोमा न्यौपाने, खुदिलबिक्रम बस्नेत र इन्द्रबहादुर थापाको घर रहेको छ । भूमि आयोगले १० वर्षदेखि निरन्तर बसोवास जस्को छ, उसैले सो जग्गाको लालपूर्जाका लागि फाराम भर्न सक्ने भनेपनि आफूहरुलाई सो जग्गा विद्यालयको रहेको भन्दै फाराम भर्नै नदिएको स्थानीय अजय खड्काले बताए । छेउछाउमा अरु जग्गा पनि ऐलानी रहेको र त्यसमा बसोवास गर्नेहरुलाई फाराम भर्न दिइएको तर आफूहरुलाई वडा कार्यालय पुग्दा फाराम भर्नै नदिएको खड्काले गुनासो पोखे ।
लालबन्दी नगरपालिकाको यसअघिको न्यायिक समितिले सो जग्गा विद्यालयको रहेको भन्दै घर भएकाहरुले त्यहाँ बस्न इच्छुक भए भाडा तिरेर बस्न सक्ने निर्णय गरेको थियो । सो निर्णयको विरुद्धमा स्थानीयवासी सर्लाही जिल्ला अदालतमा पुगे ।
अदालतले न्यायिक समितिको निर्णयलाई उल्टाउँदै सो जग्गा ऐलानी रहेको फैसला सुनाएको थियो । स्थानीयले अदालतको फैसला अनुसार ऐलानी जग्गा जस्ले भोगचलन गरेको हो, उसैले पाउनुपर्ने दावी गरेका छन् ।
अहिलेको ऐनले पनि त्यही भनेको उनीहरुको तर्क छ । गाउँमा एउटै प्रकृतिको जग्गामा अरु बस्न पाउने तर आफूहरुलाई बिल्लीबाठ पार्ने नियतले सुकुम्वासीको फाराम भर्न नदिएको उनीहरुको आरोप छ ।
लालबन्दी नगरपालिका १६ का वडाध्यक्ष गणेशबहादुर थापाले स्थानीयले घर बनाएर बसेको जग्गा विद्यालयकै भएको दावी गरेका छन् । वडाध्यक्ष थापाले आफूहरु सानै हुँदादेखि नै सो जग्गा विद्यालयकै रहेको देखेको तर्क गरेका छन् ।
उनले विद्यालयको जग्गा भएकाले स्थानीयले भने अनुसार जग्गाको लालपूर्जाका लागि उनीहरुलाई फाराम भराउन नसकिने बताए । लालबन्दी नगरपालिका १५ का वडाध्यक्ष गोरखबहादुर बलले धमाधम पक्की घर बन्न थालेपछि सो जग्गाबारे प्रहरीमा समेत उजुरी परेको र प्रहरीमा सबै बसेर छलफल गर्दा स्थानीयहरु विद्यालयले गर्ने हरेक निर्णय मान्न तयार भएका बताए । वडाध्यक्ष बलले पनि सो जग्गा विद्यालयकै भएको बताए ।
यस्तै, लालबन्दी नगरपालिकाको कार्यपालिका बैठकले पनि केही साताअघि सो जग्गा विद्यालयको रहेको भन्दै स्थानीयले भाडा तिरेको खण्डमा मात्रै त्यहाँ बस्न पाउने निर्णय गरेको छ । लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीले यसअघिकै जनप्रतिनिधिको पालामा सो प्रकारको निर्णय भएको र आफूहरुले पनि सोही अनुसारको निर्णय गरेको उज्यालो अभियानसँग बताए ।
स्थानीयहरु फाराम भर्न पाउनुपर्ने माग गर्दै अहिले पनि लालबन्दी नगरपालिकाको न्यायिक समितिमा धाई रहेका छन् । लालबन्दी नगरपालिकाकी उपमेयर कल्पनामाया पाख्रिनले फाराम भर्न पाउनुपर्ने माग गर्दै स्थानीयहरु बारम्बार नगरपालिका कार्यालय आइरहेका जानकारी दिईन् ।
७ घरमध्ये केहीको त्यहाँमात्रै जग्गा रहेको र त्यहाँबाट उठाए समस्या पर्ने भन्दै गुनासो पोख्न आइरहेका उपमेयर पाख्रिनले बताईन् ।
लालबन्दी नगरपालिकाका पूर्व मेयर मानबहादुर खड्काले त्यसबेलाको न्यायिक समितिले विद्यालयको नाममा रहेको जग्गा भाडामा लगाउने निर्णय गरेपनि अदालतले निर्णय नै उल्टाइदिएको बताए ।