लालबन्दी – सर्लाहीसहित तराई क्षेत्रमा पछिल्ला दिनहरुमा पानी परुन्जेल शित्तल हुने र त्यसपछि हपक्कै गर्मी हुन थालेको स्थानीयले बताएका छन् ।
शनिबार र आइतबार दुई दिन पानी पर्दा यस क्षेत्रमा शित्तल भएको थियो । सोमबार दिनभर पानी नपर्दा जिल्लावासीले अत्यधिक गर्मी महशुस गरे ।
तर सोमबार साँझपख भने लालबन्दीसहित उत्तरी भेगका धेरै ठाउँमा पानी परिरहेको छ । यो वर्ष भेल बाढी बग्ने गरी ठूलो पानी अझै पर्न नसकेका कारण यस्तो अवस्था आएको धेरैको तर्क छ ।
यो वर्ष तुलनात्मक रुपमा तराई क्षेत्रमा बढी नै गर्मी महशुस भइरहेको छ । राम्रोसँग पानी बर्सिन नसक्दा किसान बढी प्रभावित छन् । शनिबार र आइतबारको पानीले उत्तरी भेगका किसानलाई राम्रै फाइदा पुगेको छ ।
धान बालीलाई सुक्नबाट रोक्न र कोदो लगायत अन्य बाली लगाउन मौका पाएको उत्तरी भेगका किसानले बताएका छन् । तर, दक्षिणी भेगमा भने ठूलो पानी पर्नै नसकेको किसानले बताएका छन् ।
दक्षिणी भेगका किसानले अहिले पनि महँगीको डिजेल खर्चेर पप्पसेट चलाई धानमा पानी पटाइरहेका हाम्रा संवाददाताहरुले जनाएका छन् ।