नाढीमन – सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन तालमा माछाको ठेकेदारले पानी सफा गर्न हालेको विषादीले दुर्गन्ध फैलिँदा स्थानीय प्रभावित भएका छन् ।
पानी फोहोर भएको भन्दै ठेकेदारले ९÷१० दिनअघि भारतबाट ल्याएको विषादी हालेका थिए । त्यसपछि ताल वरपर निकै दुर्गन्ध फैलिएको छ । त्यही दुर्गन्धका कारण स्थानीयमा वान्ता भइरहने, टाउको दुख्ने जस्ता स्वास्थ्य समस्या देखा परेको छ ।
चन्द्रनगर गाउँपालिकाले नाढीमन तालमा माछापालनका लागि ठेकेदारलाई ६ करोड २९ लाख रुपैयाँमा ५ वर्षका ठेक्का दिएको छ । सो ठेक्काको अवधी आगामी वैशाख दोस्रो साता सकिँदै छ ।
ठेकेदार दुलार मुखियाले पानी फोहोर भएपछि सफा गर्नका लागि विषादी हालेको उज्यालो अभियानसँग बताए । औषधि हालेको देखि निरन्तर टन्टलापूर घाम लागेको र राम्रोसँग पानी पर्न नसक्दा दुर्गन्ध फैलिएको उनको भनाई छ ।
उनले जनकपुर लगायतका स्थानमा पनि यसरी पानी सफा गर्न विषादी हाल्ने गरिएको दावी गरे । ठेकेदार मुखियाले गाउँपालिकाले तालमा डुंगा चलाउँदा माछा मर्ने गरेको, छेउछाउमा रक्सी खाएर बोतल जथाभावी फाल्दा माछा मार्न खटिने आफ्ना कामदारको खुट्टा काट्ने गरेको, बाढी आएर माछा बगाउने गरेको, कहिलेकाँही माछा नै चोरी हुने गरेको जस्ता कारणले आफू अन्यायमा परिरहेको गुनासो पोखेका छन् ।
ठेकेदारले हिजो अस्तीको भन्दा विषादीको गन्ध विस्तारै कम हुँदै गएको बताएका छन् ।