नयाँ आएका निर्वाचन अधिकृत निर्मल पोखरेल । तस्बिर : उज्यालो अभियान
मलंगवा – सर्लाहीमा नयाँ जिल्ला निर्वाचन अधिकारी हाजिर भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय मलंगवामा कार्यालय प्रमुख तथा जिल्ला निर्वाचन अधिकारीको रुपमा शाखा अधिकृत निर्मल पोखरेल हाजिर भएका हुन् । आफू भदौ ३ गते शुक्रबार नै कार्यालयमा हाजिर भएर कार्यभार सम्हाली सकेको पोखरेलले सोमबार साँझ उज्यालो अभियानसँग बताए ।
निर्वाचन आयोगले साउन २९ मा निर्णय गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बुटवलमा कार्यरत पोखरेललाई सर्लाहीको जिल्ला निर्वाचन अधिकारीको रुपमा सरुवा गरेको थियो । जिल्ला निर्वाचन कार्यालयका तत्कालिन प्रमुख दीवाकर भुजेल साउन १० गते हरिपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएर आएपछि निर्वाचन कार्यालय प्रमुखविहीन बनेको थियो ।
निर्वाचन अधिकारी पोखरेलले आफू हाजिर हुनासाथ मंसिर ४ का लागि तोकिएको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीका कामलाई अघि बढाएको बताए । उनले जिल्लामा स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका अधिकांश उम्मेदवारहरुले खर्चको विवरण नबुझाएका र विवरण नबुझाउनुको कारणसहित भोली मंगलबारसम्म स्पष्टीकरण पेस गर्नुपर्ने म्याद रहेकाले सोही स्पष्टीकरण बुझ्ने कार्यमा लागिरहेको बताए ।