logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिवनमा दुई पक्षबीच झडप, एक प्रहरीसहित ३ घाइते


  • उज्यालो अभियान

झडप प्रतिकात्मक तस्बिर ।

हरिवन – सर्लाहीको हरिवनमा शनिबार राती दुईपक्षबीच झडप हुँदा १ प्रहरीसहित ३ जना घाइते भएका छन् ।

हरिवन माछा बजारमा कौडी उठाउने विषयमा भएको विवादलाई राजनीतिक रंग दिँदा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको हो । पछिल्लो समय हरिवनमा स–साना विषयलाई पनि राजनीतिक रंग दिँदा बेलाबेलामा तनावको स्थिति सिर्जना भइरहेको छ ।

प्रहरीको उच्च सावधानीका कारण राती त्यहाँ ठूलो किसिमको अप्रिय घटना टरेको एक स्थानीयले उज्यालो अभियानसँग बताए । झडपमा स्थानीय मनोज बैठा र नुरसबा खातुन घाइते भएका छन् । कुटाकुट हुँदा घाइते भएका उनीहरुको नमूना अस्पताल हरिवनमा उपचार चलिरहेको छ ।

यस्तै, झडपमा ढुंगा प्रहार हुँदा प्रहरी जवान कासिम मियाँ धोबी पनि घाइते भएका छन् । टाउकोमा चोट लागेर घाइते उनी उपचारपश्चात डिस्चार्ज भइसकेका प्रहरीले जनायो ।

हिजो (शनिबार) दिउँसो हाटबजार लाग्दा माछा बजारमा कौडीबापत १५० रुपैयाँ उठाउनुपर्ने ठाउँमा ठेकेदारले २०० रुपैयाँ उठाएको भन्दै त्यसैबाट विवाद सुरु भएको बुझिएको छ । दिउँसो बजार क्षेत्रमा विवाद भएपछि राती हरिवन ११ कै बालगंगा गाउँमा फेरि दुईपक्षबीच विवाद भएको प्रहरीले जनाएको छ । हरिवनको माछा बजार यसअघि एमालेका कार्यकर्ताले ठेक्का लिएकोमा अहिले माओवादी कार्यकर्ताले नयाँ ठेक्का लिएका छन् ।

रातीको सो घटनामा प्रहरीले उच्च सावधानी अपनाएको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मलंगवाबाट डीएसपी विजय यादव, सशस्त्र प्रहरीको हरिवन बेसबाट डीएसपी सुशील श्रेष्ठ र इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षक मुकेश ताम्राकारको कमाण्डमा प्रहरी टोली परिचालन भएका थिए ।

सर्लाहीका एक सुरक्षा अधिकारीले हरिवनमा पछिल्लो समय भइरहेको यस किसिमको विवादले शान्ति सुरक्षामा चिन्ता थपिएको गुनासो गरेका छन् । प्रहरीले विवादलाई मत्थर बनाउने प्रयास गरेपनि दुई पक्षले हरेक विषयलाई राजनीतिक प्रतिष्ठासँग जोड्दा समस्या उत्पन्न भएको ती सुरक्षा अधिकारीको भनाई छ ।