logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

‘मिटरब्याजी’ आरोपीलाई कारवाहीको माग


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीका ‘मिटरब्याजी’ आरोपितहरुलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै सदरमुकाम मलङ्गवामा बिहीबार प्रदर्शन गरिएको छ ।

‘मिटरब्याजी’ आरोपित श्याम परदेशी भन्ने श्यामकृष्ण साह, रामबाबु राय, सन्जय साह रौनियारलगायतविरुद्ध कारवाहीको माग गर्दै ‘मिटरब्याजी’ पीडितले जिल्ला प्रशासन कार्यालय मलङ्गवा अगाडि पुगेर प्रदर्शन गरेका हुन् । आरोपितमध्ये ब्रह्मपुरी गाउँपालिकाको त्रिभुवननगर निवासी सन्जय साह रौनियार अहिले सर्लाही प्रहरीको हिरासतमा छन् ।

प्रहरीले उनीविरुद्ध चर्को ब्याज अर्थात् मिटरब्याजमा ऋण लगानी गरी ठगी गरेको आरोपमा अनुसन्धान गरिरहेको छ । यस्तै, मुख्य आरोपित श्यामकृष्ण साह अदालतको आदेश अनुसार अहिले थुनामा छन् भने रामबाबु राय फरार रहेका छन् ।

बरहथवाका रामबाबुलाई प्रहरीले यसअघि दुई पटक पक्राउ गरेको थियो । पछिल्लो समयमा सर्लाहीमा ‘मिटरब्याजी’ को आरोपित सूचीमा इन्दल राय, रामस्वरुप राय, रामचन्द्र रायलगायतको नाम पनि आउन थालेको छ ।

सरकारले ‘मिटरब्याजी’ आरोपितविरुद्ध उजुरी दिन आब्हान गरेपछि पीडितहरु धमाधम खुल्न थालेका छन् । बिहीबार पीडितहरुले गरेको प्रदर्शनमा हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले समेत सहभागी भइ समर्थन जनाएका छन् ।

पीडितहरुले गरिब मारा मिटरब्याजी साहुकारहरु मुर्दावाद, हाम्रो बासस्थान फिर्ता गर, उच्च अदातलको निर्णय कार्यान्वयन गरजस्ता नारा लगाएका थिए । मधेशमा कपाली तमसुक बनाएर चर्को ब्याजमा ऋण लगानी गर्ने र ऋण लिएको रकम भन्दा धेरै रकम फिर्ता गर्दा समेत साहुको ऋण चुक्ता नहुँदा धेरै परिवार पीडित बन्दै आएका छन् ।