बरहथवा – स्रोत नखुलेको नगद र सुनसहित सर्लाहीको बरहथवाबाट दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–७, स्थायी घरभइ काठमाण्डौंको कपन बस्दै आएका ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोटा बस्ने ३१ वर्षीय विशाल खत्री रहेका छन् । उनीहरुलाई बरहथवा नगरपालिका–११, हीरापुर ब्यारेजस्थित सडकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
उनीहरुको साथबाट स्रोत नखुलेको ३६ लाख रुपियाँ नगद र २३३ ग्राम २८० मिलिग्राम तौल बराबरको सुनको सिक्री एकथान र ब्रासलेट एकथान बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।
नयाँरोडबाट हीरापुरतर्फ जाँदै गरेको प्रदेश ०२–०३३ प ७७५० नम्वरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई नगद र सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई बरामद सुन, नगद र मोटरसाइकलसहित आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय मलङ्गवामा बुझाइएको छ ।