भवानीपुर – सर्लाहीको बसबरिया गाउँपालिकाले आज बिदा दिएको छ ।
कार्यपालिका सदस्य सरिता सहनी मलाहको निधनमा आज (मंगलबार) एक दिनका लागि गाउँपालिकाभर शोक बिदा दिइएको हो ।
गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायले बिहान एक सूचना जारी गरी स्वर्गिय सहनीप्रति श्रद्धान्जली व्यक्त गर्दै आज एक दिनका लागि गाउँपालिका कार्यालय अन्तर्गतका सम्पूर्ण कार्यालय र शैक्षिक संस्थाहरु समेतमा शोक बिदा हुने जानकारी गराएका हुन् । कार्यपालिका सदस्य सहनीको हिजो उपचारका क्रममा काठमाण्डौंमा निधन भएको थियो ।
५० वर्षीया उनको हृदयघातका कारण ज्यान गएको परिवारका सदस्यले बताएका छन् ।
बसबरिया गाउँपालिका २ निवासी सहनी बैशाख ३० को निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट वडाध्यक्षको उम्मेदवार समेत थिईन् । वडाध्यक्षमा पराजित उहाँलाई पछि कार्यपालिका सदस्य बनाएर लगिएको थियो ।