अध्यक्षका उम्मेदवार पोखरेल र योन्जन ।
लालबन्दी – खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लालबन्दीको अध्यक्षमा स्वतन्त्र उम्मेदवार देवनाथ पोखरेल (चश्मा छाप) ले अग्रता लिएका छन् ।
पोखरेलले नेपाली कांग्रेसका उम्मेदवार इन्द्र योन्जन (करुवा) छापलाई पछि पार्दै अग्रता लिन थालेका हुन् । वडा नं. ६, ८, ९, १०, ११, १२, १३ को अन्तिम र वडा नं. ५ को २०० र वडा नं. ७ को ५ सय मत गन्दा पोखरेलले योन्जनलाई ६२ मतले पछि पारेका छन् ।
पोखरेलले १५ सय १६ मत प्राप्त गर्दा योन्जनले १४ सय ५४ मत प्राप्त गरेका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका पोखरेललाई एमाले र राप्रपाको साथ छ । कांग्रेसले भने नेकपा (एकीकृत समाजवादी) सँग तालमेल गरेको छ ।
अध्यक्षका अर्का उम्मेदवार हेमबहादुर श्रेष्ठ (श्याम) घर छापले ३५२ मत प्राप्त गरेका छन् । माओवादीले जसपा र लोसपासँग तालमेल गरेको छ ।
यसैगरी, उपाध्यक्षमा अर्जुन चौधरी (करुवा) छापले १४ सय २१ , गंगाराम महतो (चश्मा) छापले १३ सय ६२ र इन्द्र बल (घर) छापले ४८३ मत प्राप्त गरेका छन् । यस्तै, सचिवतर्फ अप्सरा वाग्ले (करुवा) छापले १४ सय १३ , हरिमाया थिङ (चश्मा) छापले १३ सय ६०, राधादेवी भण्डारी (घर) छापले ४४५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, कोषाध्यक्षमा डुकेन्द्र बहादुर खत्री (कपिल) करुवा छापले १५ सय ३०, मानबहादुर विश्वकर्मा (चश्मा) छापले ११ सय ९३ र घमकुमार श्रेष्ठ (राजकुमार) घर छापले ५०३ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका संयोजक गोपाल थापाका अनुसार अहिले वडा नं. ५ र ७ को मतगणना जारी छ ।
वडा नं. ३ जब्दी र ४ हरिभवन क्षेत्रको मतगणना हुन बाँकी छ । मतगणना सक्न आज दिनभर नै लाग्ने बताइएको छ । हिजो भएको मतदानमा जम्मा ४७ सय ४५ मत खसेको थियो । ६८ सय ३५ उपभोक्तामध्ये ६९ दशमलव ४२ प्रतिसत अर्थात् ४७ सय ४५ उपभोक्ताले मत खसालेका हुन् ।