आदिवासी दिवसमा आयोजित अन्तक्र्रिया कार्यक्रम । (तस्बीर: उज्यालो अभियान)
घुर्कौली – सर्लाहीमा मंगलबार २८ औँ विश्व आदिवासी दिवस मनाइएको छ ।
हरेक वर्ष अगस्ट महिनाको ९ तारिखमा यो दिवस मनाइन्छ । संयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।
यस वर्षको नारा ‘आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ तय गरिएको छ । हरिवन नगरपालिका–५, घुर्कौलीस्थित जनजाति भवनमा नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् सर्लाहीको आयोजनामा अन्तक्र्रिया गर्दै दिवस मनाइएको नेपाल मगर संघ सर्लाहीका अध्यक्ष तेजनारायण आले मगरले जानकारी दिए ।
नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् सर्लाहीका अध्यक्ष एकबहादुर गुरुङको अध्यक्षता तथा प्रदेशसभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा संविधान सभा सदस्य रामचन्द्र चौधरी, नेकपा (एकीकृत समाजवादी) पार्टी सर्लाहीका अध्यक्ष सुरेन्द्र लामा, हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल), उपमेयर हरिमाया घलान, ईश्वरपुर नगरपालिकाकी उपमेयर रन्जितादेवी चौधरीलगायतको आतिथ्यता रहेको थियो । कोभिडलगायत अन्य कारणले सर्लाहीमा ६ वर्षपछि यो पटक आदिवासी दिवस मनाइएको मगर संघका अध्यक्ष आलेले बताए ।
‘आदि’ भनेको धेरै पुरानो अथवा ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ । कुनै पनि ठाउँमा धेरै पुरानो समयदेखि बसोबास गरिरहेका र त्यस भूमिको माटोलाई खनिखोस्री गरेर आफ्नो पुस्ता धानिरहेका, आफ्नै विशिष्ट कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएका समूदायलाई आदिवासी भनिन्छ ।
मानव सभ्यताको विकाससँगै बसाई–सराइको क्रम शुरु भएपछि क्रमशः आप्रवासीहरुको घनत्व बढ्न गई उनीहरुको पहिचान, अस्तित्व, फरक गुण अनि रितीरिवाजमा कमी आउन थालेको छ ।