बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका–१६, मा लखन्देही खोलाको कटान रोक्न बाँसका बिरुवा रोपिएको छ ।
बरहथवा नगरपालिकाको सहयोग तथा हेल्भेटासको प्राविधिक सहयोगमा नदी नियन्त्रण गर्ने उद्देश्यसहित बाँसका बिरुवा रोपिएको हो । सोमबार बिहान भएको बाँसको बिरुवा रोपण कार्यक्रममा पूर्वमन्त्री एवं सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य रामेश्वर राय, संविधान सभा सदस्य हरि उप्रेती, बरहथवा नगरपालिकाका प्रमुख कल्पनाकुमारी कटुवाल, नगर उपप्रमुख रामबाबु साह, कांग्रेस बरहथवाका नगर सभापति उपेन्द्र महतो, एमालेका बरहथवा नगर कमिटी अध्यक्ष अमरेन्द्रकुमार सिंहलगायत अगुवा र स्थानीयवासीको उपस्थिति रहेको थियो ।
बर्सेनि नदीको कटान बढ्दै गएकाले बाँसका बिरुवा रोपेर रोकथामको प्रयास थालिएको बरहथवा नगरपालिकाले जनाएको छ । बाँसको बिरुवा हुर्किएपछि खोलाको कटान कम हुने अपेक्षा गरिएको छ ।
लखन्देही खोलाको किनारमा १३ हजार बाँसको बिरुवा रोप्ने कार्यक्रम रहेको छ ।