ज्ञापन पत्र बुझाएर प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्दै व्यापारीको टोली । (तस्बीर : उज्यालो अभियान)
बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजारका व्यापारीले शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
अलपत्र छाडिएको बयलवास बजार क्षेत्रको सडक कालोपत्रेका लागि समन्वय गरिदिन माग गर्दै व्यापारीहरुले सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी (सीडीओ) थानेश्वर गौतमलाई ज्ञापन पत्र बुझाएका हुन् । उद्योग वाणिज्य संघ ईश्वरपुरका अध्यक्ष मनोजकुमार साहद्वारा हस्ताक्षरित ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले तत्कालै ठेकेदारलाई फोन गरी काम सूचारु गर्न निर्देशन दिएका छन् ।
फूलजोर–त्रिभुवननगर सडक खण्डमा पर्ने बयलवास बजार क्षेत्रको सडक लामो समयदेखि अलपत्र अवस्थामा रहेको छ । सडक कालोपत्रे गर्ने ठेक्का टुन्डी आशिष सन्तोषि जेभीले पाएको छ ।
सडक विस्तारका लागि पक्की घरहरु भत्काइ ‘साइड क्लियर’ गरेको महिनौँ भइसक्दा समेत ठेकेदारले कालोपत्रेको काम अघि नबढाएपछि आक्रोशीत व्यापारी आन्दोलित भएका हुन् । सडक तथा नाला निर्माण कार्य अलपत्र छाडिँदा आवतजावत तथा व्यापार, व्यवसाय गर्न कठिनाइ भइरहेको व्यापारीले गुनासो गरेका छन् ।
व्यापारीहरुले सडक कालोपत्रेको माग राख्दै बिहीबार र शुक्रबार दुई दिन बजार समेत बन्द गरे । सडकको धूलोले गर्दा पसल खोल्नै नसक्ने अवस्था रहेको र पसल बन्द गर्दा बैंकको ऋण तिर्न मुस्किल परेको व्यापारीहरुको गुनासो छ ।
व्यापारीहरुले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा ७ दिनभित्र सडक कालोपत्रे र नाला निर्माणको कार्य सूचारु नभएमा विभिन्न किसिमको हड्ताल तथा आन्दोलन गर्ने चेतावनी दिएका छन् । ज्ञापन पत्रमा संघ तथा प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय, हुलाकी सडक आयोजना जनकपुरलगायतका कार्यालयलाई बोद्यार्थमा राखिएको छ ।
ज्ञापन पत्र बुझाएर प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्दै व्यापारीको टोली । (तस्बीर : उज्यालो अभियान)