हरिपूर्वाका सुशील रायको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरिँदै ।
बागमती – सर्लाहीको हरिपूर्वाका सुशील रायको हत्यामा संलग्न रहेका दुई अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।
हरिपूर्वा नगरपालिका–३, बस्ने १९ वर्षका सुशीलको हत्या गरी फालिएको अवस्थामा साउन १६ गते गाउँकै राष्ट्रिय आधारभूत विद्यालय धनकौलको हाताभित्र रहेको पुरानो शौचालयको सेफ्टी ट्याङकीमा शव फेला परेको थियो । सुशीलको टाउको, कन्चट, घाँटी, तथा हातमा धारिलो हतियार प्रहार गरी विभत्स ढङ्गले हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।
प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा सुशीलकै साथी हरिपूर्वा नगरपालिका–३, का १८ वर्षका अजयकुमार यादव र १९ वर्षका कृष्ण भन्ने विश्वजित यादवलाई पक्राउ गरेको हो । दुवैलाई भारतबाट पक्राउ गरी ल्याइएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण पोखरेलले उज्यालो अभियानलाई जानकारी दिए । सुशीलको हत्या लगत्तै दुवै अभियुक्त फरार भएका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा लागूऔषध (ड्रग्स) सेवन गरिरहेका बेला सामान्य विवाद भएको र त्यसै क्रममा अजयकुमार र विश्वजित मिलेर सुशीलको हत्या गरेको खुलेको छ । त्यस्तै, उनीहरुको परिवार–परिवारबीचमा समेत पुरानो विवाद रहेको पाइएको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।
प्रहरीले दुवै अभियुक्तविरुद्ध सर्लाही जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा छ दिन म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।