अध्यक्षका उम्मेदवार क्रमश : योन्जन, श्रेष्ठ र पोखरेल ।
लालबन्दी – खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लालबन्दीको अध्यक्षमा लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
संस्थाको आगामी नेतृत्वका लागि नेपाली कांग्रेसबाट लालबन्दी नगरपालिका ७ बजारका इन्द्र योन्जन, माओवादी केन्द्रबाट लालबन्दी नगरपालिका ४ हरिभवनका हेमबहादुर श्रेष्ठ (श्याम) र स्वतन्त्रबाट लालबन्दी नगरपालिका ६ जनवादी चोकका देवनाथ पोखरेलको अध्यक्षमा उम्मेदवारी परेको छ । निर्वाचन समितिले उम्मेदवारहरुलाई बिहीबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको थियो ।
सो अवधीमा कोषाध्यक्ष पदका एक जना उम्मेदवार सुनिलकुमार साहबाहेक पदाधिकारी पदका अन्य कोही पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएका निर्वाचन समितिले जनाएको छ । खानेपानीको निर्वाचनका लागि नेपाली कांग्रेसले नेकपा (एकीकृत समाजवादी) सँग तालमेल गरेको छ ।
कांग्रेस–समाजवादीको समूहबाट अध्यक्षमा इन्द्र योन्जन, उपाध्यक्षमा अर्जुन चौधरी, सचिवमा अप्सरा वाग्ले र कोषाध्यक्षमा डुकेन्द्र बहादुर खत्री (कपिल) को उम्मेदवारी परेको छ । यस्तै, नेकपा माओवादी केन्द्रले जसपा र लोसपासँग तालमेल गरेको छ ।
माओवादीबाट अध्यक्षमा हेमबहादुर श्रेष्ठ (श्याम), उपाध्यक्षमा इन्द्र बल, सचिवमा राधादेवी भण्डारी र कोषाध्यक्षमा घमकुमार श्रेष्ठ (राजकुमार) को उम्मेदवारी परेको छ । यस्तै, अध्यक्षमा सर्लाहीका विभिन्न पालिकाका प्रशासकीय अधिकृत भई काम गरेका देवनाथ पोखरेलले भने स्वतन्त्रबाट उम्मेदवारी दिएपनि उनलाई नेकपा एमालेले अघि सारेको चर्चा भइरहेको छ ।
पोखरेल भने आफू स्वतन्त्र उम्मेदवार भन्दै हिँडेका छन् । एमालेले पोखरेलाई समर्थन जनाइरहँदा उसले अध्यक्षमा पार्टीको आधिकारिक उम्मेदवार पनि उठाएको छैन् ।
एमालेबाट उपाध्यक्ष, सचिव र कोषाध्यक्षका उम्मेदवार भने रहेका छन् । एमालेबाट उपाध्यक्षमा गंगाराम महतो, सचिवमा हरिमाया थिङ र कोषाध्यक्षमा मानबहादुर विश्वकर्मालाई उठाइएको छ ।
एमाले लालबन्दीका अध्यक्ष बिक्रम भण्डारीले एमालेले अध्यक्षमा उम्मेदवार नउठाउने र स्वतन्त्र उम्मेदवार पोखरेललाई नै सहयोग गर्ने निर्णय भएको बताए । दलहरुले खानेपानीको यो निर्वाचनलाई प्रतिष्ठाको विषय बनाइरहेका छन् ।
लालबन्दी खानेपानीको अध्यक्षमा यसअघि बासुदेव अधिकारी थिए । अधिकारी गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनबाट मेयरमा निर्वाचित भएपछि उपााध्यक्ष शान्ता भण्डारीले अहिले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाली रहेकी छिन् ।
खानेपानीको नयाँ नेतृत्व चयन गर्न साउन २८ गते मतदान हुने छ । खानेपानीका नियमित महशुल तिरेका र ब्ल्याक लिष्टमा नपरेका ६ हजार ८ सय ३४ जना उपभोक्ता छन् । उनीहरु नै २८ गते हुने निर्वाचनको मतदाता हुन् ।
लालबन्दी नगरपालिकाको ११ वटा वडामा खानेपानी वितरण हुँदै आएको छ । निर्वाचन समितिले २८ गतेको निर्वाचनका लागि मतदान स्थल समेत तोकेको छ । वडा नं. ३, ४ र ५ का लागि शिशु कल्याण जनता मावि हरिभवन, वडा नं. ६, ७, ८ र ९ का लागि खानेपानीकै कार्यालय लालबन्दी ६ लेखाली चौर र वडा नं. १०, ११, १२ र १३ का लागि हीरापुर आधारभूत विद्यालयमा मतदान केन्द्र तोकिएको हो ।