बयलवास बजारको खाल्डाखुल्डी परेको सडक ।
बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजारका व्यापारीले आज (बिहीबार) बिहानैबाट बजार बन्द गराएका छन् ।
लामो समयदेखि अलपत्र छाडिएको बयलवास बजार क्षेत्रको सडक तत्काल निर्माण गर्न दबाब सिर्जना गर्ने उद्देश्यले व्यापारीहरुले बजार बन्द गराएका हुन् । बजारमा आज औषधि पसल र अन्य अत्यावश्यक पसल व्यवसायबाहेक अन्य पसलहरु खुलेका छैनन् ।

उद्योग वाणिज्य संघ ईश्वरपुरको अगुवाईमा बजार बन्द गराइएको हो । भोली पनि यसैगरी बजार बन्द गराउने कार्यक्रम रहेको छ । फूलजोर–त्रिभुवननगर सडकमा पर्ने बयलवास बजार क्षेत्रको सडक चौँडा गरेको महिनौँ भइसके पनि ठेकेदारले विभिन्न बहानाबाजी गर्दै कालोपत्रेको काम गरेका छैनन् ।
सडक क्लियर गर्नेक्रममा घरहरु भत्काउँदा करोडौँको क्षति समेत भएको तर अहिलेसम्म पनि ठेकेदारले सडकमा कालोपत्रे नगर्दा आवातजावत तथा व्यापार व्यवसाय गर्न कठिनाई भइरहेको व्यापारीहरुले बताएका छन् ।
सडक निर्माणका लागि नगरपालिका कार्यालयसहित अन्य निकायलाई घच्घच्याउँदा समेत सडकको काममा प्रगति नभएको व्यापारीहरुको गुनासो छ । उनीहरुले आफूहरुको आन्दोलनमा संघ तथा प्रदेशका सांसद र नगरका जनप्रतिनिधिको पनि समर्थन रहेको बताएका छन् ।