logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिपूर्वा युवक हत्या प्रकरण : दुई अभियुक्तलाई भारतमा पक्राउ गरी ल्याइयो


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

हरिपूर्वा – सर्लाहीको हरिपूर्वामा एक युवकको विभत्स हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई भारतबाट पक्राउ गरेर ल्याइएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण पोखरेलले उज्यालो अभियानसँग बताए । जिल्लाको दक्षिण पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिका–३, धनकौल टोल बस्ने रामसोगारथ रायका छोरा १८ वर्षीय सुशील कुमार यादवको हत्या भएको अवस्थामा गएको सोमबार गाउँकै आधारभूत विद्यालय धनकौलको चर्पी निर्माणका लागि खनिएको खाल्डोभित्र फेला परेको थियो ।

हत्याको सो घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्त मृतक सुशीलकै साथीहरु हुन् । सुशीलको हत्यापछि दुवै अभियुक्त घर छाडेर भागेका थिए ।

प्रहरीले उनीहरुलाई भारतीय प्रहरीसँग समन्वय गरी भारतबाटै पक्राउ गरेर ल्याएको हो । उनीहरुविरुद्ध बुधबार सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइसकिएको एसपी पोखरेलले जानकारी दिए । प्रहरीले घटना र अभियुक्तको सम्वन्धमा प्रेस विज्ञप्तीमार्फत विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

मृतक सुशीलको धारिलो हतियारले घाँटी रेटिएको र छिनो (फलामको रडलाई तिखो पारेर बनाइएको हतियार) ले आँखामा प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । सुशील गएको सुक्रबारदेखि नै घरबाट बेपत्ता भएपनि परिवारले प्रहरीमा भने खबर गरेको थिएन ।

परिवारले सुशील पुनः कामका लागि भारत नै गएको होला भनी प्रहरीमा सूचना नगरी बसेको तर सोमबार बिहान शव फेला परेपछि मात्रै सुशील चारदिन अघिदेखि नै बेपत्ता रहेको खुल्न आएको थियो । मृतकको शव पोष्टमार्टमपछि परिवारले बुझेर अन्त्येष्टि समेत गरिसकेका छन् ।

सर्लाही प्रहरीले हरिपूर्वाको यो घटनासहित पछिल्लो पटक भएका तीनवटा कर्तव्य ज्यानका घटनामा अभियुक्तलाई तत्कालै पक्राउ गर्न सफल भएको छ । प्रहरीले यसअघि कविलासीको अगर्वामा एक युवकको हत्या भएको घटनामा संलग्न मृतककै भाईसहितका अभियुक्त र पर्सा गाउँपालिकाकी एक महिलाको हत्या भएको घटनामा संलग्न मृतककै श्रीमान, ससुरा र देवरलाई पक्राउ गरी कानून कारवाही अघि बढाइसकेको छ ।

यस्तै, ईश्वरपुरको सागरनाथ जंगलमा नवजात शिशुको हत्या गरी शव गाडीएको घटनामा संलग्न अभियुक्तको पनि नजिकै पुगिसकिएको एक प्रहरी अधिकारीले बताए ।