logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीको हरिपूर्वामा एक युवकको विभत्स हत्या, शौचालयको खाल्डोभित्र शव भेटियो


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

हरिपूर्वा – सर्लाहीको हरिपूर्वामा एक युवकको विभत्स ढंगले हत्या गरिएको अवस्थामा सोमबार बिहान शव फेला परेको छ ।

जिल्लाको दक्षिण पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिका–३, धनकौल टोल बस्ने रामसोगारथ रायको छोरा १८ वर्षका सुशील कुमार यादवको हत्या भएको हो । सुशीलको शव सोमबार बिहान गाउँकै आधारभूत विद्यालय धनकौलको चर्पी निर्माणका लागि खनिएको छ फिटजति गहिरो खाल्डोमा फेला परेको प्रहरीले जनायो ।

धारिलो हतियारले घाँटी रेटिएको र छिनो (फलामको रडलाई तिखो पारेर बनाइएको हतियार) ले आँखामा प्रहार गरेर हत्या गरिएको अवस्थामा सुशीलको शव फेला परेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले उज्यालो अभियानसँग बताए । भारतमा मजदुरी गर्ने सुशील केही दिनअघि मात्रै घर आएका थिए ।

सुशील गएको सुक्रबारदेखि नै घरबाट बेपत्ता भएपनि परिवारले प्रहरीमा भने खबर गरेको थिएन । परिवारले सुशील पुनः कामका लागि भारत नै गएको होला भनी प्रहरीमा सूचना नगरी बसेको तर सोमबार बिहान शव फेला परेपछि मात्रै सुशील चारदिन अघिदेखि नै बेपत्ता रहेको खुल्न आएको डीएसपी यादवले सुनाए ।

उनका अनुसार मृतकको शव कीराले खान थालिसकेको अवस्थामा बरामद भएको हो । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ ।