logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

बरहथवा टिपर दुर्घटना : मृतकको शव आज परिवारले बुझे


  • उज्यालो अभियान

दुर्घटनापछि शुक्रबार दिउँसो बरहथवा बजारमा टायर बालेर गरिएको प्रदर्शन ।

बरहथवा – सर्लाहीको बरहथवामा शुक्रबार टिपरको ठक्करबाट ज्यान गुमाएका युवकको शनिबार परिवारले बुझेका छन् ।

मृतक मुकेश साहको शव शनिबार दिउँसो प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम गरी परिवारले बुझेर लगेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख (एसपी) प्रवीण पोखरेलले उज्यालो अभियानलाई जानकारी दिए । शुक्रबार बिहान बरहथवा नगरपालिका–१०, किसनपुर टोलमा टिपरको ठक्करबाट मोटरसाइकल चालक रौतहटको ईशनाथ नगरपालिका–५, लक्ष्मीनियाँ टोल बस्ने २६ वर्षीय मुकेशको मृत्यु भएको थियो ।

बागमती प्रदेश ०३–००१ क ०१९६ नम्वरको टिपरले ना २१ प ७४०१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक साहको घटनास्थमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । साह बरहथवा ७ मा रहेको जय शक्तिमान पाउरोटी उद्योगमा काम गर्थे ।

दुर्घटनाका विषयमा शनिबार यातायात संघका मानिस र टिपरधनीलाई बोलाएर छलफल गर्ने सहमतीमा मृतकको शव घटना भएको १० घन्टापछि घटनास्थलबाट शुक्रबार साँझ उठाएर पोष्टमार्टम गर्न पठाइएको थियो । तर, शनिबार गाडीधनी र पीडितबीच छलफल भने हुन सकेन् ।

एसपी पोखरेलले शनिबार गाडीधनी छलफलमा नआएको बताएका छन् । छलफलमा नआएपनि फोनमा कुराकानी भइरहेको र मृतकको परिवारलाई नियमअनुसारको रकम उपलब्ध गराइने एसपी पोखरेलले बताए ।

दुर्घटनामा संलग्न टिपरका चालक बरहथवा प्रहरीको नियन्त्रणमै छन् । उनीविरुद्ध आइतबार सर्लाही जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा म्याद थप गरी कारवाही अघि बढाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।