घटनास्थलमा जम्मा भएका स्थानीयको भीड र त्यहाँ तैनाथ प्रहरी ।
बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका–१०, किसनपुर टोलमा शुक्रबार बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक रौतहटको ईशनाथ नगरपालिका–५, लक्ष्मीनियाँ टोल बस्ने २६ वर्षीय मुकेश साहको मृत्यु भएको हो । साहले बरहथवा ७ मा रहेको जय शक्तिमान पाउरोटी उद्योगमा काम गर्थे ।
दक्षिणतर्फबाट आउँदै गरेको इन्द्र बाँनिया कन्ष्ट्रक्सनको बागमती प्रदेश ०३–००१ क ०१९६ नम्वरको टिपरले विपरीत दिशाबाट गइरहेको ना २१ प ७४०१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक साहको घटनास्थमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । बिहान ८ः४५ बजेतिर भएको सो दुर्घटनाका मृतकको शव घटनास्थमै रहेको र अहिले वार्ता चलिरहेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी विजय यादवले उज्यालो अभियानसँग बताए ।
दुर्घटनामा संलग्न टिपर र त्यसका चालक मकवानपुरको भिमफेदी गाउँपालिका–६, सिमलटार बस्ने २७ वर्षीय राजु लामालाई बरहथवा प्रहरीले नियन्त्रणमा लिएको छ ।