सीडीओ मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै जसपाका नेताहरु । (तस्बीर : उज्यालो अभियान)
मलंगवा – मधेश प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गर्न माग गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल सर्लाहीले बिहीबार सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
सो पार्टीले मधेशलाई सुक्खा क्षेत्र घोषणासहित अन्य विभिन्न सात बुँदे माग राखेर जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा किसानलाई पर्याप्त मलखादको व्यवस्था गर्न, बैङ्कबाट लिइएको ऋणको ब्याज मिनाह गर्न, सिँचाईको लागि डिप बोरिङलगायत अन्य बैकल्पिक व्यवस्था गर्न र कृषि मिटर उपलब्ध गराइ निःशुल्क विद्युत्को व्यवस्था गर्न माग गरिएको छ ।
जसपाका जिल्ला अध्यक्ष वीरेन्द्रकुमार रायलगायतका नेताहरुले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतममार्फत यि मागहरु समेटिएको ज्ञापन पत्र सरकारलाई बुझाएका हुन् । पर्याप्त सिँचाईको व्यवस्था नभएकाले तराई मधेशका किसान वर्षाको भरमा खेती गर्न बाध्य हुनुपरेकाले यस विषयमा गम्भीर बन्न सरकारसँग सो पार्टीले आग्रह गरेको छ ।
तराई क्षेत्रमा यो वर्ष मध्यसाउन भइसक्दा पनि पर्याप्त वर्षा हुन नसक्दा सबै किसानले धान रोपाइँ गर्न पाएका छैनन् ।